पाकिस्तानी विदेशमन्त्री चीन पुगे, कश्मिर मुद्दा शान्तिपूर्ण ढंगले समाधान गर्न चिनियां सुझाव 


एजेन्सी– पाकिस्तानका विदेशमन्त्री  शाह महमूद कुरेशी चीन भ्रमणको क्रममा वेइजिंग पुगेका छन् । भारत सरकारले भारत प्रशासित कश्मीरको अनुच्छेद ३७० हटाएपछि दुवै देशको सम्बन्ध झन् खराव भएको वेला कुरैशी एक्कासी चीन भ्रमणमा गएका हुन् । 

विदेशमन्त्री कुरैशीले चिनियां विदेशमन्त्री वांङ यीसंग द्धिपक्षिय भेटवार्ता गर्नुका साथै कश्मिर मामलाबारे समेत छलफल गरेका छन् । लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीन समेत भारतसंग असन्तुष्ट छ । चिनियां विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले दक्षिण पश्चिम चीनको भूभागलाई समेत आफ्नो अधिकार क्षेत्रभित्र पार्ने गरी तयार पारेको लद्दाख युनियन टेरिटोरीप्रति आपत्ति जनाइएकी थिईन । 

उनले वेइजिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै चीन र भारत सीमा क्षेत्रको पश्चिमी भागको चिनियां भूखण्डलाई भारत शासित क्षेत्रको परिधिमा राखेकोमै चीनले उहिल्यैदेखि विरोध गर्दै आइरहेको बताइन्।

उनले भनिन्, ‘कस्मिरबारे हाम्रो अडान दृढ र निरन्तर एउटै छ, त्यो कहिलै पनि परिवर्तन हुंदैन। भारतीय पक्षले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एक पक्षीय रुपमा गरेको घरेलु कानुनको परिमार्जन चीनलाई स्वीकार्य छैन।’

पाकिस्तानका विदेशमन्त्रीले वेइजिङमा भारतको आक्रमक व्यवहारले कश्मिरका जनतालाई खतरामा राखेको आरोप लगाएका छन् । 

चिनियां विदेशमन्त्रीले भेटमा पाकिस्तान र चीनबीच भाइचाराको सम्बन्ध भएको भन्दै पाकिस्तानलाई सहयोगको प्रतिवद्धता जाहेर गरेका छन् । विदेशमन्त्री कुरैशीले पाकिस्तान शान्ती र स्थिरता कायम गर्नुपर्ने पक्षमा भएको बताएका छन् । उनले यसमा चीनको समर्थन रहेको र दुवै मुलुक मिलेर कश्मिरका जनताको आवाजलाई दुनियांको अगाडी ल्याएर छोड्ने दावी समेत गरेका छन् । 

चिनियां समाचार संस्था सिन्हाले पाकिस्तानी विदेशमन्त्रीको भ्रमणलाई विशेष र इमर्जेन्सी भ्रमणको संज्ञा दिएको छ । सिन्हाकाअनुसार पाकिस्तानी विदेशमन्त्रीसंगको भेटमा चिनियां विदेशमन्त्री वांङले कश्मिर मुद्दा संयुक्त राष्ट्रसंघको वडापत्र, सुरक्षा परिषदको प्रस्ताव र भारत पाकिस्तानको वीचमा भएका द्धिपक्षिय सम्झौताअनुसार शान्तीपुर्ण रुपमा समाधान हुनुपर्ने धारणा राखेका छन् ।

उनले चीन र पाकिस्तान सदावाहर रणनैतिक साझेदार भएको भन्दै सधै एक अर्काका मुल मुद्दामा दुवै देशको सहयोग रहने बताए । विदेशमन्त्री वांङले पाकिस्तानको सुरक्षा र वैधानिक अधिकारको लागी चीनले अन्र्तराष्ट्रिय मुद्दामा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

  

उनले भारत र पाकिस्तान दुवै चीनको लागी मित्र राष्ट्र भएको भन्दै दक्षिण एसियाको शान्ती र विकासका लागी सहकार्य र संवाद आवश्यक भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement