सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाण्डु – नेपालका लागि पाकिस्तानी राजदूत डा. मजर जाभेदले सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाई भेट गरेका छन् । चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जाभेदले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गरेका हुन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे । उनले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरे ।

राजदूत जाभेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गरे । उनले कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement