पाकिस्तानी प्रधानमन्त्री यसकारण आउंदै छन् नेपाल?

पाकिस्तानी प्रधानमन्त्री यसकारण आउंदै छन् नेपाल?


काठमाडौं– पाकिस्तानले आफ्ना प्रधानमन्त्री शाहिद खाकन अब्बासीको नेपाल भ्रमणलाई दक्षिण एसियाली देशहरूसंगको सम्बन्ध थप विस्तार गर्ने आफ्नो पहलकदमीको रूपमा व्याख्या गरेको छ ।

दुई दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री अब्बासी सोमवार दिउंसो काठमाडौं आइपुग्दैछन् । उनले आफ्ना समकक्षी केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई पक्षीय हितका विषयमा कुराकानी गर्ने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसंग सोमवार नै भेटवार्ता गर्ने कार्यक्रम रहेका पाकिस्तानी प्रधानमन्त्रीलाई सैनिक मञ्चमा विशेष सम्मान दिने तयारी नेपाल सरकारको छ ।

पहलकदमी
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री अब्बासीको भ्रमणको उद्देश्य क्षेत्रीय देशहरूसंग सम्बन्ध बढाउने दिशातर्फको ’पहलकदमी’ हो । आइतवार जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, “यो भ्रमणका क्रममा सार्कलाई एउटा बलियो र महत्त्वपूर्ण क्षेत्रीय संगठन कसरी बनाउने भन्नेबारे पनि छलफल हुनेछ।“ नेपालमा हालै भएका संसदीय चुनावपछि वामपन्थी दलहरूको शक्तिशाली सरकार बनेयता काठमाडौं भ्रमण गर्ने अब्बासी पहिलो विदेशी सरकार प्रमुख हुन् । यो भ्रमणमा नेपालसंग व्यापार, शिक्षा, पर्यटन, रक्षा र जनसम्पर्क जस्ता विषयमा पनि छलफल गर्ने पाकिस्तानले जनाएको छ ।

पाकिस्तानले सार्कको विषयमा पनि छलफल हुने बताए पनि नेपालको परराष्ट्र मन्त्रालयले त्यसबारे केही उल्लेख गरेको छैन । नेपाल हाल सार्कको अध्यक्ष रहेको छ र पाकिस्तानलाई उक्त जिम्मेवारी हस्तान्तरण गर्न प्रतिक्षारत छ । सार्क शिखर सम्मेलनको आयोजना गरेर सन् २०१६ को नोभेम्बरमा नै पाकिस्तानले सार्कको अध्यक्षको जिम्मेवारी सम्हाल्न लागेको थियो । तर युरीस्थित आफ्नो सैनिक ब्यारेकमा भएको आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउंदै भारतले मिति तय भइसकेको सम्मेलन बहिष्कार गरेको थियो । त्यसपछि अफगानिस्तान, बांग्लादेश र भुटानले पनि सहभागी नुहने बताएपछि सार्क शिखर सम्मेलन स्थगित भएको थियो ।

‘पाकिस्तान र अमेरिकाबीच गहिरो मतभेद छ’
पाकिस्तानमा हुनुपर्ने उक्त १९ औं शिखर सम्मेलन त्यसयता अनिश्चित बनेको छ । त्रिभूवन विश्वविद्यालयको अन्तर्रा्ष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राध्यापक खड्ग केसी अन्र्तराष्ट्रिय रूपमा एक्लिंदै गएकाले पाकिस्तानले सार्कमा आफनो भूमिका बढाउन चाहिरहेको बताउंछन् ।

उनले बीबीसीसंग भने, “खासगरी राष्ट्रपति ट्रम्प सत्तामा आइसकेपछि पाकिस्तानको अमेरिकासंग विगतमा जस्तो सुखद सम्बन्छ छैन, अमेरिकाले पनि इन्डो प्यासिफिक एलायन्स भनेर भारतसंगको सम्बन्धमा जोड दिएको छ । हाल पाकिस्तान चीनको बेल्ट एण्ड रोड अवधारणाको प्रमुख साझेदार रहेको छ । तर अमेरिकाको साथ नपाउंदा क्षेत्रीय स्तरमा भारतसंग प्रतिस्पर्धा गर्ने उसको आत्मविश्वास केही कमजोर बनेको देखिन्छ ।“

“नेपालमा पनि नयां र आत्मविश्वासी प्रकृतिको सरकार बनेकाले सार्कलाई क्रियाशील बनाएर यो क्षेत्रमा आफ्नो भूमिकालाई अलिकति सुदृढ पार्ने उसको चाहना हुनसक्छ।“ नेपाली अधिकारीहरूले पनि पाकिस्तानी तत्परतामा नै प्रधानमन्त्री अब्बासी काठमाडौं आउन लागेको पुष्टि गरेका छन्। प्रधानमन्त्री निकट नेकपा एमालेका नेता राजन भट्टराईका अनुसार उनीसंग ’दुई पक्षीय मामिलामा छलफल गर्ने’ ओलीको तयारी छ ।

“हामीले अहिलेसम्म दुई पक्षीय विषयवस्तुबारे मात्रै छलफल गर्ने तयारी गरेका छौं । तर उहांहरूको प्रस्तावमा सार्कबारे पनि कुराकानी हुन सक्छ।“इस्लामाबादबाट हुन लागेको उच्च तहको नेपाल भ्रमणलाई लिएर पाकिस्तानको परम्परागत प्रतिद्वन्द्वी रहेको भारतमा चासोहरू व्यक्त भइरहेको देखिन्छ ।

भारतको द हिन्दु पत्रिकाकी कूटनीतिक सम्पादक सुहासीनी हैदरले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन् “पाकिस्तानी प्रधानमन्त्री अब्बासी प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल जाँदैछन्‘ काठमाडौले भारतलाई भन्दा पहिला निम्तो दिएको हो कि प्रधानमन्त्री मोदी जान नसकेका हुन्?“ सन् २०१७ को एप्रिलमा एकजना पूर्व पाकिस्तानी सैनिक अधिकारी कर्णेल मोहम्मद हबिब नेपालको लुम्बीनी क्षेत्रबाट बेपत्ता भएका थिए । हालसम्म ’हराइरहेका’ भनिएका उनको अवस्थाबारे पाकिस्तानले भारतलाई पत्र लेखेर सोधेको विवरणहरु आएका थिए।
फणीन्द्र दाहाल संवाददाता, बीबीसी नेपाली