पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलमा ‘गार्ड अफ अनर’


काठमाडौं – सरकारले पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ । सोमबार काठमाडौं आइपुगेका अब्बासीको सम्मानमा साँझ साढे ५ बजेपछि उनलाई सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा अब्बासीलाई स्वागत गरेका थिए । उच्चस्तरीय विदेशी पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने परम्परा तोड्दै सरकारले पहिलोपटक पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई अोली सरकारले टुँडिखेलमा गार्ड अफ अनरको सम्मान गरेको हो ।

प्रधानमन्त्री अब्बासी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले पुगेका थिए ।

३२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका हुन् ।

आजै दुई प्रधानमन्त्रीबीच होटल सोल्टीमा भेटवार्ता गर्ने कार्यक्रम छ । अब्बासीको सम्मानमा प्रधानमन्त्री ओलीले आज होटल सोल्टीमा रात्रीभोज आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement