एमबीएस प्रश्नपत्र बाहिरिएको प्रकरणमा ‘सुलभ सर’ सहित दुई पक्राउ

एमबीएस प्रश्नपत्र बाहिरिएको प्रकरणमा ‘सुलभ सर’ सहित दुई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आशंकामा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
प्रहरीका अनुसार ‘एमबीएस फर्स्ट सेम सेक्शन सी’ नामको ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको थियो ख।

प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरेका थिए । उनले घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए ।

त्यसपछि मन्त्रालयमै सम्बन्धित अधिकारी, प्रहरी उच्च अधिकारी तथा त्रिविका पदाधिकारीसँग छलफल गरी घटनाको छानबिन र आवश्यक प्रक्रिया अघि बढाउने विषयमा परामर्श गरिएको थियो ।

यसअघि ‘टियु स्टुडेन्ट्स’ नामक फेसबुक पेजले सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएको भन्दै त्रिविको ध्यानाकर्षण गराएको थियो । उक्त पेजले प्रश्नपत्र फैलाइएको ह्वाट्सएप समूहका स्क्रिनसटसमेत सार्वजनिक गरेको थियो ।

घटनाबारे अनुसन्धान गर्न त्रिवि परीक्षा नियन्त्रण महाशाखाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रा।डा। अच्युत ज्ञवालीको संयोजकत्वको समितिमा सहप्रा।डा। पुष्कर रैखला र सहप्रा।डा। महेशराज ओझा सदस्य छन् ।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।