घुमाउने बहानामा सुन्दरीजल पुर्याएर प्रेमीकाको हत्या

घुमाउने बहानामा सुन्दरीजल पुर्याएर प्रेमीकाको हत्या


काठमाण्डु– गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलासा भएको छ ।

सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार सुन्दरीजलमा उनकै प्रेमीले युवतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका–५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको हो। अभियुक्त रामविनय महराले खुलाएअनुसार राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो।

युवतीको अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि भर्दै नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले बताएका छन्।

योजनाअनुसार नै रामविनयले प्रेमिका राम दुलारीलाई घुम्न भनेर सुन्दरीजल लगेका थिए । त्यसपछि सन्तोषको सहयोगमा रामदुलारीको  टाउकोमा  ढुंगाले  हानेर  हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि बोक्सेदहकै ढुंगाको कापमा दुलारीको शव लुकाएर उनीहरु त्यहाँबाट हिँडेको पाइएको प्रहरीले जनाएको छ ।