के हो पल-समीक्षा विवाद ? यस्तो छ दुवैले दिएकाे स्पष्टीकरण


काठमाण्डु – नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो समयमा चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए । समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे चियोचर्चो सुरू भए पनि यो चियागफमै सीमित थियो । यसबारे पूर्ण जानकार कोही थिएनन् । तर यकिनका साथ भन्ने पनि कोही थिएनन् ।

यो विषयमा बोल्न उनीहरू तर्किए पनि अन्ततः बोलेका छन् । एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धलाई प्रस्ट्याएका छन् । पलले सामाजिक सञ्जालमार्फत आफुलाई हुँदै नभएको र नगरिएको आरोप लगाइएको बताएका छन् ।

यस्तो छ पल शाहद्वारा सार्वजनिक गरिएको भनाइ

देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक स्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट मलगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगो दर्शकदीर्घ नै दुःखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेसा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनुहुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु । अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। मैले सधैं दर्शक स्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु। गायिका समीक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिंगो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्रहत्या हुने कार्य नगरिदिनुहोला ।

यता समीक्षाले पनि सामाजिक सञ्जालमार्फत नै आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले पलसँग जोडिएर आएको समाचारहरू कपोकल्पित रहेको उल्लेख गरेकी छिन् ।

यस्तो छ समीक्षाद्वारा सार्वजनिक गरिएको भनाइ

मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरू आएका छन्, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मेडियामा आएका छन्, जसले मेरो चरित्रहत्या भएको छ। यसका साथसाथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार बाजी गरिराको छन्। यसो नगर्नु हुन अनुरोध गर्दछु। बिनास्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हुँ। र, हजुरहरूको माया रहेसम्म सधैं राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मानहानि र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहाँ छु, यो सब मेरा भगवानरूपी दर्शक स्रोताको देन हो र हजुरहरूलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा समाचारहरूप्रति घोर निन्दा गर्दछु र हजुरहरू यसको पछाडि नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरूलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु, कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानि तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला।

केही समययता पल र समीक्षाको प्रेमको चर्चा फिल्मनगरीमा छ । पछिल्लो समय पलको म्युजिक भिडियोमा व्यस्तता अत्यधिक छ । तर, यो चर्चा चलेयता उनले इभेन्टमा सहभागिता जनाउन छाडेका छन् । उनलाई भिडियोमा अभिनय गराएका एक निर्देशकले पलले इभेन्टमा आफू नआउने बताउने गरेको खुलाए ।

पल र समीक्षा प्रेम चर्चा

म्युजिक भिडियो छायांकनकै क्रममा पल र समीक्षा नजिकिएका हुन् । समीक्षाको गायन रहेको गीतको भिडियोमा समीक्षासँगै पल मोडल थिए । यही सहकार्यले यी दुईको सामीप्यता बढेर प्रेममा परिणत भएको हल्ला छ । समीक्षाले त्यसलाई प्रेमकै रूपमा बुझे पनि पलले हल्काफुल्का रूपमा हेर्न थालेपछि यी दुईको चर्चा फिल्मनगरीमा चुलिएको हो ।

पलको सम्बन्ध अन्य फिमेल मोडलसँग प्रगाढ हुँदै गइरहेको र आफूसँग टाढिएको महसुस गरेपछि समीक्षाले आफूसँग रहेका डिजिटल प्रमाणहरू (फोटो र भिडियोहरू) सहित पुलिस केस गर्ने तयारी थालेपछि यो प्रेमको चर्चा फिल्मनगरीमा बढ्न थालेको हो । समीक्षा नाबालिग भएकाले उमेर पुगेपछि पलले विवाह गर्ने सहमति गरेको चर्चा बढ्दो छ । पलले आर्थिक प्रलोभनसमेत दिएको बताइन्छ । यद्दपी समीक्षा र उनका परिवारहरूले विवाह गर्नु पर्ने अडान राखेपछि सम्झौता उमेर पुगेपछि विवाह गर्ने भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement