काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गरेकी छिन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा धारणा राख्दै मन्त्री डा.राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएका र नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तक्र्रियाहरु भइरहेका जानकारी गराइन् ।
उनले भनिन् “विभिन्न द्विपक्षीय बैठकहरु, भ्रमण आदानप्रदानका साथै सम्पर्क र सम्वाद भइरहेको छ, नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ र यो सहयोग र सद्भावले आगामी दिनमा पनि निरन्तरता पाउने नै छ ।”
सो समितिमा पछिल्लो समयमा नेपालको कूटनीतिक सम्बन्धका बारेमा समितिका सदस्यहरुले राखेको जिज्ञासामा उनले सो जवाफ दिएकी हुन् ।
मन्त्री डा. राणाले सो बैठकमा अमेरिकामा भएको संयुक्त राष्ट्रसंघीय महासभाको ७९ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो सहभागिता र त्यसक्रममा भएका विविध भेटघाट एवं कार्यक्रमहरु, प्रधानमन्त्री ओलीको चीन भ्रमणका साथै आफ्नो भारत भ्रमण र ती भ्रमणमा भएका समझदारी, सम्झौता तथा द्विपक्षीय भेटघाटका विषयमा जानकारी गराएकी थिइन्।
बिआरआइ सम्झौतामा ऋण भन्ने शब्द कतै लेखिएको छैन
बैठकमा राखिएको एक जिज्ञासामा मन्त्री डा. राणाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै पनि उल्लेख नभएको पुनः स्पष्ट पारिन् ।उनले भनिन् “सो सम्झौतामा ऋण लिने भनेर कतै लेखिएकै छैन । त्यसमा प्रयोग गरिएको ‘एड’ शब्दको अर्थ पनि मैले बुझेसम्म ऋण भन्ने होइन । तर यहाँ भने किन हो नेपालले ऋणमा सम्झौता गरेको भनेर मात्र भन्ने गरिएको छ ।”
नेपालले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेको र त्यसमा ऋण लिने भन्ने कुरा नलेखिएको स्पष्ट गर्दै उनले भनिन् “ऋण लिने कुरा त आवश्यकतामा आधारित हुन्छ नि । हामीलाई ऋण आवश्यक छैन, चाहिँदैन भने दिने पक्षले लिनैपर्छ भन्छ र रु”
सार्क हामीले मात्र चाहेर सक्रिय हुदैन, अध्यक्षका रुपमा प्रयास जारी छ
त्यसैगरी मन्त्री डा. राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क नेपालले मात्र चाहेर सक्रिय बनाउन नसकिने स्पष्ट गर्दै तर पनि सार्कलाई गति दिनका लागि पहल भने जारी राखिएको स्पष्ट गरिन्।
उनले भनिन् “हामीले मात्र चाहेर सार्क सक्रिय बनाउन सकिने होइन । सार्कको बडापत्रमा नै सबै सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहमतिमा मात्र यसको शिखर सम्मेलन हुन्छ भनिएको छ । सबै सदस्य राष्ट्रका तयार नभएकाले नै सार्कले गति नलिएको हो । तर पनि अध्यक्षका नाताले नेपालले गर्ने पहल र प्रयास गरिरहेकै छ ।”
सार्कको शिखर सम्मेलन मात्र हुन नसकेको तर अन्य कार्यक्रमहरु तथा बैठकहरु भने भइरहेका उनले जानकारी दिइन् । आफूले संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा पनि सार्कका विदेशमन्त्रीहरुको बैठकका लागि पहल गरेको पनि उनले बताइन् ।
ओएनएममार्फत परराष्ट्रको संरचनामा नै परिवर्तन गर्दैछौँ
त्यसैगरी मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयले आफ्नो आवश्यकता अनुसार नै संगठनात्मक सर्वे (ओएनएम) गरेको र यसबाट नेपाली डायस्पोरालाई सेवा दिन तथा अन्य कूटनीतिक सम्बन्धको विस्तारका क्षेत्रमा पनि आगामी दिनमा सहयोग पुग्ने पनि जानकारी दिइन् ।
उनले कतिपय मिसनमा आवश्यक जनशक्तिको अभावमा नेपाली नागरिकले त्यहाँ सेवा पाउन नसकेको तथा कतै मिसन विस्तार गर्नुपर्ने आवश्यकता पनि रहेको बताउँदै यो नयाँ ओएनएमले यी सबै समस्याको समाधान गर्ने पनि बताए।
उनले कतिपय शाखा महाशाखाहरुमा पनि परिवर्तन गरिने र आर्थिक कूटनीतिको अवधारणालाई आगामी दिनमा मुर्त रुप दिएर अन्य सरोकारवाला मन्त्रालयहरुको पनि सहभागितामा महाशाखा नै स्थापना गरेर अघि बढ्न कार्ययोजना बनाइने उनले जानकारी दिइन् ।
मन्त्री डा. राणाले पासपोर्ट सेवा अहिले चुस्त दुरुस्त रहेको र पासपोर्ट खरिदका लागि आवश्यक प्रक्रियागत जटिलताका बाबजुद टेण्डरमार्फत् समयमै उपलब्ध गराउने प्रक्रिया सुरु भएको जानकारी दिइन् ।
प्रतिक्रिया