भारत र चीनको निशानामा ‘नेपालपरस्त’ प्रचण्ड : छिमेकले समृद्धि सपनामा सघाउँलान् ?


काठमाडौं – ‘हामी न भारतपरस्त, न त चीनपरस्त । हामी त नेपालपरस्त’ । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको छिमेक नीतिका विषयमा पछिल्लो समय भन्ने गरेको वाक्य हो यो । नेपाली राजनीति विदेशी र छिमेकीको प्रभाव र दबाबमा चल्ने गरेको आरोप लाग्ने गरेका बेला प्रचण्डले आफ्नो पार्टी नेपालपरस्त भएर चलेको र चल्नुपर्ने बताउने गरेका छन् ।

प्रचण्डले देखाएको पछिल्लो सन्तुलित छिमेक नीतिले नेपाली राजनीतिलाई स्वदेशी बाटोमा हिँडाउन सकिने विश्वास गर्न सकिन्छ । तर, छिमेकले यो नीतिलाई कसरी बुझेका छन् ? स्वदेशी बाटो ‘समृद्धिको सपना’ पूरा गर्न छिमेकले सहयोग गर्लान् वा नगर्लान् ? नेपाली राजनीतिक नेतृत्वले भारत र चीनलाई आफ्ना राष्ट्रिय स्वार्थमा राजी गराउन सक्ला वा नसक्ला ? यी महत्वपूर्ण प्रश्न छन् ।
नेपाली राजनीति स्थिरता र स्थायित्वको बाटोमा अगाडि बढिरहेका पछिल्ला घटनाक्रमलाई छिमेकी भारत र चीनले कसरी लिए

का छन् भन्ने स्पष्ट रुपमा सार्वजनिक भइसकेको छैन । तर, विकसित घटनाक्रमलाई अस्वीकार गर्ने अधिकार र नजरअन्दाज गर्ने अवस्था छिमेकसामु अवश्य नै देखिँदैन । राजनीति जुन बाटोमा हिँडेपनि नेपालमा छिमेकका केही स्वार्थ छन् । ती स्वार्थ सुनिश्चित गराउन छिमेकले नेपाली राजनीतिक नेतृत्वसँग निरन्तर सम्पर्क गर्ने गर्छन् । निरन्तर छिमेकको नजरमा रहेका नेकपाका अध्यक्ष प्रचण्डले छिमेकको स्वार्थ पूरा गर्न सहयोग गर्लान् ?

नेपालका पछिल्ला राजनीतिक परिवर्तनमा प्रचण्डले प्रमुख नेतृत्वदायी भूमिका निर्वाह गरेको छिमेकी कुटनीतिक हर्ताकर्ताले राम्रोसँग देखेका छन् । त्यो राजनीतिक परिवर्तनको श्रृंखला जनयुद्ध, निरंकुश राजतन्त्रको अन्त्य, गणतन्त्र, संविधानसभा, धर्मनिरपेक्षता, संघीयता, समावेशी र समानुपातिक सहभागिता हुँदै राजनीतिक स्थायित्वसम्म पुगेको छ । स्थायित्व सुनिश्चित गरेर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण समेत भइसकेको छ । यी सबै घटनाक्रममा प्रचण्डको भूमिका निर्णायक र रचनात्मक रहेको छ । तसर्थ, प्रचण्ड भारत र चीनको नजर र निशानामा परेका छन् ।

प्रचण्ड किन जाँदैछन् भारत र चीन ?
पार्टी एकीकरणपछि प्रचण्ड राजनीतिक र कुटनीतिक भ्रमणका क्रममा विदेश गएका छैनन् । श्रीमती सिता दाहालको उपचारका लागि सिंगापुर गएपनि त्यो नितान्त व्यक्तिगत भ्रमण थियो । पार्टी एकीकरणपछि शक्तिशाली पार्टीको अध्यक्ष बनेका प्रचण्डलाई भारत र चीन भ्रमण गराउन चाहन्छन् ।

दक्षिण र उत्तरका छिमेकी भारत र चीनले एकै पटक प्रचण्डको भ्रमणको तयारी गरिरहेका छन् । आगामी १ महिनाभित्रै प्रचण्ड भारत जाने र त्यसको १ महिनापछि चीन भ्रमणमा जाने गरी तयार भइरहेको जनाइएको छ । स्रोतका अनुसार प्रचण्डले अगस्त दोस्रो हप्ता भारत र सेप्टेम्बर दोस्रो हप्ता चीनको भ्रमण गर्ने तयारी भइरहेको छ । दुवै छिमेकीले प्रचण्डको भ्रमणलाई उच्च महत्व दिँदै पूर्वतयारी गरिरहेका छन् ।

प्रचण्डको भ्रमणको प्रारम्भिक तयारीका लागि चीनको एउटा टोली नेपाल आएर फर्किसकेको छ । केही हप्ताभित्र चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्रीको नेतृत्वको अर्काे चिनिया टोली आएर प्रचण्डलाई भ्रमणको औपचारिक निमन्त्रणा दिने जनाइएको छ । भारतीय पक्षले समेत प्रचण्ड भ्रमणको तयारी गरिरहेको छ । पार्टी एकीकरणपछि झन् शक्तिशाली बनेका प्रचण्डको भ्रमणलाई दुवै छिमेकीले महत्वका साथ हेरिरहेका छन् ।

भारतीय स्वार्थ
नेकपा अध्यक्ष प्रचण्ड खुला राजनीतिमा आएपछि भारतसँगको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ । शान्ति प्रक्रिया शुरू भएपछि प्रचण्ड भारतीय हस्तक्षेपविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेका थिए । अधिकांश सार्वजनिक भाषणमा प्रचण्डले भारतीय हस्तक्षेपलाई निशाना बनाउने गरेका थिए ।

तर, अहिले परिस्थिति फेरिएको छ । प्रचण्डले राजनेताको भूमिका निभाउँदै सन्तुलित र संयमित व्यवहार देखाउने गरेका छन् । तसर्थ, प्रचण्डसँग सम्बन्ध सुधार्न भारतलाई सहज भएको छ । भेटघाट र वार्तालाप सहज भएपनि भारत अझैं पूर्णरुपमा प्रचण्डप्रति आश्वस्त हुन सकेको देखिँदैन । भारतले प्रचण्डसहित वामपन्थी नेतृत्वलाई संशयको दृष्टिले हेर्ने गरेको छ ।

नेपालमा भारतको मुख्य स्वार्थ सुरक्षा नै हो । नेपाली भूमिमा भारतविरुद्धका क्रियाकलाप नहोउन् भन्ने भारतीय मुख्य स्वार्थ पूरा गर्न नेपालका सबै राजनीतिक नेतृत्व र संयन्त्र प्रतिवद्ध छन् । तर, भारतले सुरक्षा स्वार्थको बहानामा नेपालका साना–साना घटनाक्रममा पनि आफ्नो संलग्नता र हस्ताक्षेप चाहन्छ । जसले गर्दा नेपाली नेतृत्व र भारतबीच तनाव सिर्जना हुनु स्वभाविकै हो । पछिल्लो पटक संविधान जारी हुँदा भारतले दिएको दबाब र त्यसपछि गरेको नाकाबन्दीले अनावश्यक हस्तक्षेप छरप्रष्ट भएको थियो ।

भारतको जायज स्वार्थ सुनिश्चित भएपछि अनावश्यक हस्तक्षेप पछिल्लो पटक कमजोर पर्दै गइरहेको छ । वाम गठबन्धन र नेकपा एकता हुँदा पनि स्पष्ट रुपमा नदेखिएपनि भारतले रुचाएको थिएन भन्ने चर्चा हुने गरेको थियो । वामपन्थी एकता हुन नदिने भएका सबै प्रयास विफल भए । अझैं पनि भारत प्रचण्डमार्फत् आफ्ना स्वार्थ र हस्तक्षेपलाई नेपाली भूमिमा स्थान दिन चाहन्छ भन्ने देखिन्छ ।

तर, प्रचण्डले व्यक्तिगत स्वार्थ र लाभलाई वेवास्ता गर्दै स्थायित्व, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेकाले अनावश्यक विदेशी स्वार्थ पूरा हुने देखिँदैन । पार्टी एकताका क्रममा प्रधानमन्त्री बन्न आएको प्रस्तावलाई समेत प्रचण्डले अस्वीकार पर्दै वाम एकतामा प्रतिवद्धता देखाए, नेकपामा एकल अध्यक्ष हुनुपर्ने अडान छाडेर द्विअध्यक्षात्मक प्रणालीमा चित्त बुझाए । वामपन्थी एकता खतरामा पर्दै अस्थिरता निम्तिने अवस्थामा प्रचण्डले आफ्ना अडानलाई सहर्ष परित्याग गर्ने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेका पछिल्ला काम र विपक्षीले चलाएको ‘अधिनायकवाद’को हावा भारतसम्म पनि पुगेको छ । भारतले नेकपाको लोकतन्त्रप्रतिको प्रतिवद्धता चाहन्छ । भारतको नजरबाट नेपाललाई हेर्ने अन्य विदेशी शक्तिराष्ट्र पनि ओली सरकारका क्रियाकलापबाट सशंकित भएका देखिन्छन् । जसकारण भारत प्रचण्डमार्फत् लोकतन्त्रप्रतिको प्रतिवद्धता माग्न सक्छ ।

चिनिया चासो
चीनले नेपाली राजनीतिक प्रत्यक्ष हस्ताक्षेप गरेको खासै सुनिँदैन । तर, पछिल्ला केही वर्षयता चीनले नेपालमा सम्बन्ध विस्तार गर्दै भूमिकाको खोजी गरिरहेको छ । विभिन्न विकास परियोजना र बजेटमार्फत् चीनले नेपाललाई सहयोग गर्दै आइरहेको छ ।चीनको मुख्य स्वार्थ भनेको ‘एक चीन नीति’ नै हो । नेपाली भूमि प्रयोग गर्दै चीन विरोधी गतिविधि र ‘स्वतन्त्र तिब्बत’ अभियान नहोउन् भन्ने चीन चाहन्छ । जसमा नेपाल सरकार पनि प्रतिवद्ध नै छ । तर, अन्य विदेशीको स्वार्थ र सहयोगमा नेपाली भूमिका त्यस्ता क्रियाकलाप हुन सक्नेमा पनि चीन सावधान रहन्छ । त्यसैले चीनले निरन्तर नेपालसँग सम्बन्ध विस्तार गरिरहेको छ ।

हुनेछ । स्थायी राजनीति नेतृत्वसँग योजनावद्ध सहकार्य गर्न चीनले रुचि राख्छ । महिनैपिच्छे फेरिने सरकार र नेतृत्वका कारण परियोजना र प्राथमिकता परिवर्तन गर्नुपर्ने अवस्था आउनुलाई चीनले असहज मान्ने गरेको छ । तसर्थ, चीनले राजनीतिक स्थायित्वका लागि नेकपाको एकता मजबुत भएको देख्न चाहन्छ ।

अन्त्यमा,
भारत र चीनका स्वार्थ सँगसँगै दुवै छिमेकीसँग नेपालका पनि स्वार्थ छन् । दुवै छिमेकी वा कुनै एक छिमेकीलाई वेवास्ता गरेर हामी अगाडि बढ्न सक्दैनौं । वर्तमान राजनीतिक नेतृत्व र सरकारले देखेको समृद्धिको सपना पूरा गर्न दक्षिण र उत्तरका दुवै छिमेकीको सहयोग आवश्यक पर्छ ।

रेल सपना, औद्योगिक विकास, व्यापारिक सहजीकरण र आर्थिक सहकार्यका विषयमा नेपालले दुवै छिमेकीसँग सहकार्य समेत गरिरहेको छ । प्रचण्डको भ्रमणले ती सहकार्यलाई मूर्तरुप दिन भूमिका निर्वाह गर्नेछ । प्रचण्डको भ्रमणले नेपाली नेतृत्वलाई नेपालपरस्त बनाउँदै भारत र चीनसँगको सहकार्यलाई मजबुत बनाउने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement