काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भ बोकाएर फरार भएको घटना यतिबेला चर्चामा छ । यसै विषयमा प्रतिनिधिसभा बैठकमा समेत कुरा उठिसकेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले नाइजेरियन महिलालार्ई गर्भवती बनाएर कार्की सम्पर्कविहीन भएको विषयमा छानबिन गरी कार्की दोषी देखिए कारबाहीको माग गरिन् ।
विदेशी महिलालाई प्रेम जालमा फसाएर गर्भवती बनाउने र त्यसपछि भाग्ने सांसदले आफ्नो मुलुकको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ भन्दै उनले प्रश्न गरिन् । घटनाले प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कविहीन भएको अवस्थामा सडकमा न्याय खोजिरहेकी छिन्, एउटा विदेशी नागरिक महिलालाई प्रेम जालमा फसाउने, भावनात्मक ‘ब्ल्याकमेल’ र जालझेलमा फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ? यो घटनाले आज प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको छ । कहिलेम्म नारीहरुको अस्मितामाथि यस्ता किसिमका प्रहार सहने हामी महिलाहरू ? पीडित महिलालाले न्याय पाउनुपर्छ, दोषी भए कारबाही हुनुपर्छ । त्यसैले म सम्मानीय सभामुखमार्फत सरकारसँग यथाशीघ्र यस विषयमा सत्यतथ्य सांसदलाई जानकारी गराउन माग गर्दछु ।’
आफूबारे समाचार आएपछि सांसद कार्की संसद् बैठकमा उपस्थित भएका छैनन् । सोमबार बोल्ने पालो रहेका कार्कीको नाम सभामुख डोलप्रसाद (डीपी) अर्यालले ३ पटकसम्म बोलाएका थिए । तर कार्की बैठकमा थिएनन् ।
संसद्मा कार्कीको चर्चा यत्तिमै सकिएन । मंगलबारको बैठक अन्त्यतिर पुग्नै लाग्दा अर्की सांसद साजिदा खातुन सिद्धिकीले प्रतिनिधिसभा नियमावलीको परिच्छेद २६ तिर सभामुखको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘आज जुन व्यापक न्युज आइरहेको छ, मोरङ–२ कृष्ण कार्कीको । नाइजेरियाली २६ वर्षीय युवतीलाई गर्भवती बनाएको कुरा सञ्चारमाध्यममा आइरहेको छ । सिंगो संसद्लाई लज्जित बनाएको छ । यस विषयमा मसँग १० वटा फोन आइसक्यो । उहाँको न्यायका लागि अब के गर्ने ? एउटा माननीयका कारणले हामी सबै जवाफदेहितामा उभिएका छौं ।’


सांसदको प्रश्न सुनेपछि सभामुख अर्यालले जवाफमा भने, ‘माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ र त्यसैको नियम २२० पनि छ, त्यसमा ध्यानाकर्षण गराएँ ।’

सभामुखले ध्यानाकर्षण गराएको नियम २२० मा आचारण अनुगमन समितिको गठन सम्बन्धी व्यवस्था छ भने नियम २२१ मा समितिको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ । जसमा नियम २२१ को उपनियम (१)(घ) मा सदस्यको आचरणका सम्बन्धमा उठेका प्रश्नको विषयमा छानबिन गरी संकलित तथ्यबाट सम्बन्धित सदस्यले आचरणको उल्लंघन गरेको देखिने वा नदेखिने भन्ने सम्बन्धमा स्पष्ट निर्णय गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने व्यवस्था छ ।
सांसदले खातुनले उठाएको परिच्छेद २६ मा त्यसबाहेक सांसदलाई कारवाही वा निलम्बन गर्ने कुनै प्रावधान छैन ।




प्रतिक्रिया