प्रतिनिधिसभा बैठकबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

प्रतिनिधिसभा बैठकबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा प्रस्ताव राख्दै उनले विपद्बाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे । उनले घाइते नागरिकको श्रीघ स्वास्थ्य लाभको कामना गरे ।

सभामुख अर्यालले विपद्मा प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको उल्लेख गर्दै उनले यसले नेपालका हिमनदी र हिमतालमा परिवर्तन भइरहेको बताए । सभामुख अर्यालले जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तरराष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक रहेकोमा जोड दिए ।

जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तरराष्ट्रिय बहसमा नेपालले अझ स्पष्ट र बलियो रूपमा उठाउन उनले सरकारको ध्यानाकर्षण समेत गराए । ‘रसुवा विपद्ले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ । विपद्पछिको व्यवस्थापन मात्र हैन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ । हिमताल र हिमनदीको नियमित अनुगमन प्राथमिकतामा राख्नुपर्दछ,’ उनले भने ।

सभामुुख अर्यालले तीनै तहका सरकार, सबै राजनीतिक दल, नागरिक समाज, सरकारका सम्पूर्ण संयन्त्र एवं स्रोत परिचालन गरी उद्धारलाई तीव्रता दिन र विस्थापित नागरिकलाई पुन:स्थापना गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ ।