उपप्रधानमन्त्री खड्काले संसद्‌मा गराए २ बुँदे सहमतिबारे जानकारी


काठमाण्डु – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरूबीच भएको २ बुँदे सहमतिबारे संसद्मा जानकारी गराएका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा सहमतिबारे जानकारी गराउँदै उनले सुन तस्करीबारे अनुसन्धन गर्न २ बुँदे सहमति भएको जानकारी दिए ।

उनले २ बुँदे सहमतिले दलबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको बताए ।

‘यो सहमति जुटेकोमा म नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । यो सहमतिमा पुग्नका लागि सिंगो संसदमा माननीयज्यूहरूले आ–आफ्नो ठाउँबाट दिनुभएको योगदानका लागि नेपाल सरकारको तर्फबाट म आभार व्यक्त गर्न चाहन्छु । सिंगो संसद् र माननीयज्यूहरूलाई बधाई दिन चाहन्छु । यस सन्दर्भमा सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यूलगायत सबैले यो परिस्थिति निर्माणका लागि योगदान पुर्‍याउनुभएको छ । दुईटा विषयमा मूल रुपमा सहमति भएको छ । यो सहमतिपछि अब संसदले नेपाली जनताका सरोकारसँग जोडिएका विषय, समस्यालाई छलफल गरेर निकास दिँदै जाने वातावरण निर्माण भएको छ ।’

उनले उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीबारे निष्पक्ष ढंगले छानबिन गर्ने उल्लेख गर्दै अब संसद्को ध्यान संघीयतासँग सम्बन्धित कानून निर्माणमा केन्द्रित हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement