सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा

सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठक सञ्चालनबारे प्रश्न उठिरहेका बेला सभामुख डोलप्रसाद अर्याल (डीपी) ले मंसिर महिनाभित्रै बोलाउने तयारी भइरहेको बताएका छन्।

सदनको हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको बताउँदै उनले यही महिनाभित्र बैठक बस्ने गरी तयारी अघि बढेको जानकारी दिए।

‘सदन बोलाउने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको छ। उहाँहरू पनि तयारी गरिरहनुभएको देखिन्छ,’ अर्यालले काठमाण्डुपाटीलाई भने, ‘सरकारले केही अरू काम पनि गर्नुपर्ने भएकाले केही समय रोकिएको हो।’

तर उता मंसिर २३ र २४ गते सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई ध्यानमा राखेर केही अध्यादेश ल्याउने तयारी सरकारले गरिरहेको छ। त्यसपछि मात्रै सदन बोलाउने सरकारको योजना छ। सरकारले अध्यादेशसम्बन्धी तयारी गरिरहे पनि त्यसको विस्तृत विवरण खुलेको छैन।

अध्यादेश ल्याउने सरकारको तयारीबारे सोधिएको प्रश्नमा सभामुख अर्यालले भने, ‘सरकारले आफ्नो ढङ्गले तयारी गरेको हुन सक्छ। उहाँहरूले कानुनबमोजिम ल्याएको विषयलाई त हामीले के भन्ने र !’

विपक्षी दलहरूले लामो समयदेखि संसद् बैठक बोलाउन माग गरिरहेका छन्। सभामुख अर्यालले पनि विपक्षीको मागप्रति आफू सकारात्मक रहेको र सरकारलाई यसबारे जानकारी गराइसकेको बताए।

‘प्रतिपक्षीले सदन बोलाउन माग गरिरहनुभएको छ। यो विषयमा म एकदमै जानकार छु। मैले सरकारलाई पनि त्यहीअनुसार भनिरहेको छु,’ उनले भने।

प्रतिनिधिसभा बैठक बोलाउन सरकारसँग परामर्श भइरहेको सभामुखको भनाइ, विपक्षीको निरन्तर दबाबबीच सरकारले अझै दिएन अधिवेशन आह्वानको मिति

संघीय संसद्को बजेट अधिवेशन असोज १६ गते अन्त्य भएको थियो। त्यसयता प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन। तिहार र छठ पर्वलगत्तै संसद् बैठक बोलाउन विपक्षी दलहरूले माग गर्दै आएका थिए। तर, सरकारबाट अधिवेशन आह्वानको औपचारिक निर्णय नहुँदा सदनको बैठक अनिश्चित बनेको छ।

यसबीच प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन्। उता सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसद अझै चीन भ्रमणका क्रममा छन्। उनीहरू केही दिनपछि स्वदेश फर्किने कार्यक्रम छ।

संसद् बैठक नबसिरहेका बेला विपक्षी दलहरूले सरकारका पछिल्ला गतिविधि, प्रधानमन्त्रीको भारत भ्रमण र दुई देशबीच भएका सहमतिबारे सदनमा जवाफ माग्ने तयारी गरेका छन्।

विशेषगरी भारत भ्रमणका क्रममा उठाइएका विषय, सीमा विवाद, आर्थिक सहायता तथा पूर्वाधारसम्बन्धी सहमतिबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ।

सरकारले अध्यादेशमार्फत केही कानुनी तथा नीतिगत काम अघि बढाउने तयारी गरिरहेको छ। तर संसद् बैठकको औपचारिक मितिबारे अझै अन्योल छ।

सभामुखले मंसिरभित्रै सदन बोलाउने तयारी भइरहेको बताए पनि त्यसको अन्तिम निर्णय भने सरकारको सिफारिस र राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि मात्रै हुनेछ।

सरकारले रास्वपा महामन्त्री विपिन आचार्यसहितको टोली चीनबाट फर्किएपछि मात्रै सदन बोलाउनेबारे परामर्श अघि बढाउने तयारी गरेको छ।