पार्टी एकता र सरकारबारे टुंगो लगाउन आज एकता संयोजन समितिको बैठक


काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई टुंगोमा लगाउन दुवै पार्टीको बैठक आईतबार बस्दैछ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिवार भएको एक्लाएक्लै भेटवार्तामा आईतबार एकता संयोजन समितिको बैठक बोलाएर एकताको टुंगो लगाउने सहमती भएको थियो । सहमतीबमोजिम नै आज एकता संयोजन समितीको बैठक बस्दैछ ।

एमाले र माओवादीबीच बैचारीक मतभिन्नता हुंदा पार्टी एकता र सरकार गठनमा अवरोध आएको थियो । माओवादीले ओली नेतृत्वको सरकारलाई पार्टी एकता नभएसम्म सरकार बाहिरबाट मात्रै सहयोग गर्ने बताएपछि त्यसले सरकार गठन प्रक्रियामा अवरोध आएको हो ।
शनिवार दूई अध्यक्षबीच भएको बैठकमा पार्टी एकतालाई यसै साता टुंगो लगाउने र तत्काल सरकार गठनलाई पूर्णता दिने सहमति भएको थियो ।

दुई पार्टीबीच एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालो गर्ने सहमति भएपनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्नेमा कुरा मिल्न सकेको छैन ।

एमाले नेताहरु पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद नै राख्नुपर्ने अडानमा छन् भने माओवादीहरु महाधिवेशनसम्म जबज र माओवाद दुबैमा खुला छलफल हुनुपर्ने पक्षमा छन् । माओवादीले नै अघि सारेको मध्यमार्गी लाइनमा सहमती खोज्ने तयारी भइरहेको एकता संयोजन समितीका एक सदस्यले काठमाडौंपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement