पशुपति आर्यघाटका कामदारको सेवासुविधा बढ्यो, आन्दोलन फिर्ता


काठमाडौं – आन्दोलनमा उत्रिएका पशुपति आर्यघाटका कामदारको माग पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटका कामदारहरुको सेवा सुविधा बढाउने भएपछि आन्दोलन फिर्ता भएको छ ।

एउटा शव जलाएवापत कामदारले १ हजार २ सय पाउने गरेको पैसा बढाएर दुई हजार नपुर्याएसम्म आजै (बुधबार) देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्ने काम बन्द गर्ने चेतावनी दिएका थिए । यस्तै कामदारको स्वास्थ्य उपचारको पनि उचित व्यवस्था हुनपर्ने माग पशुपति आर्यघाटका कामदारले पशुपति क्षेत्र विकास कोषसँग गरेका थिए ।

आन्दोलनरत पक्ष र पशुपति क्षेत्र विकास कोषबीच सहमति भएपछि शव जलाउन, खाल्डो खन्न र दाउरा ओसार्न सुचारू भएको काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेश डङ्गोलले जानकारी दिए ।

डङ्गोलका अनुसार शव जलाउने कर्मचारीहरूको पारिश्रमिक बढाइएको छ । यसअघि घाट सेवा केन्द्रले एउटा शव जलाएवापत रु. १२ सय दिँदै आएको थियो । अहिले ३ सय रुपैयाँ बढाएर १५ सय पुर्याइएको छ । शव पुर्न खाल्डो खन्नेको पनि केन्द्रले २५ प्रतिशतले पारिश्रमिक वृद्धि गरेको छ । यसअघि एउटा खाल्डो खनेवापत सानो बच्चाको ७ सय र ठूलाको ९ सय रुपैयाँ दिइँदै आएको थियो ।

दाउरा ओसार्नेको पनि पारिश्रमिक बढाइएको छ । एउटा शव जलाउन दाउरा ओसार्दा यसअघि कामदारले रु. ४०० पाउँदै आएका थिए । अहिले त्यसमा रु. १०० थप गरिएको छ ।

केन्द्रले सेवाबाट निवृत्त हुँदा पाउने अवकाश रकम पनि बढाएको छ । १० वर्ष शव जलाएर अवकाश हुनेलाई यसअघि ५० हजार दिइँदै आएकोमा अहिले ५० हजार थपेर एक लाख पुर्याइएको छ । १५ वर्ष शव जलाएर अवकाशको बाटो रोज्नेलाई एकमुष्ठ तीन लाख रुपैयाँ दिन केन्द्र राजी भएको छ । यसअघि उनीहरूले एक लाख पाउँथे ।

१५ वर्षभन्दा माथि सेवा गर्नेलाई एकमुष्ठ पाँच लाख दिन केन्द्र सहमत भएको छ । यसअघि उनीहरूले डेढ लाखमात्र पाउँथे ।

प्रतिक्रिया दिनुहोस
Advertisement