पाथीभरा केबलकार विवादमा ६ बुँदे सहमति

पाथीभरा केबलकार विवादमा ६ बुँदे सहमति

आन्दोलनका कार्यक्रम फिर्ता


काठमाण्डु- ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विवाद टुंगिएको छ । सरकार र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएपछि विवाद टुंगिएको हो । वार्ता सोमबार र मंगलबार दुईदिन भएको हो ।

गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।

त्यस्तै सरकारले घोषणा गरे अनुसार आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानूनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।

मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्तामा माग भएको पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगक सरुले हस्ताक्षर गरेका छन् ।

यस्तो छ ६ बुँदे सहमति

१. पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य स्थगित गर्ने र माघ २७ गते विस्तृत छलफल गर्ने।

२. आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने।

३. माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने ।

४. आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने।

५. मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने।

६. केबलकार निर्माणसँग सम्बन्धित असहमति तथा अन्य विषयमा माघ २७ गते पुनः वार्ता गर्ने।