काठमाण्डु – पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा काठमाण्डुको बुढानिलकण्ठमा सुरु भएको प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने र त्यसका लागि काउन्सिलले पहल गर्नुपर्ने आवाज उठाएका हुन् ।
प्रेस काउन्सिल नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पत्रकारिताका विज्ञहरुले पत्रकारलाई लाइसेन्स दिने व्यवस्थाले मर्यादित र जिम्मेवार पत्रकारिताको विकास हुने बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको ग्यारेन्टी कानुनले गर्ने भएकाले कानुन निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताए ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिए ।
लोकान्तर डटकमका प्रधान सम्पादक बिमल गौतमले पत्रकारिता क्षेत्रमा स्वतन्त्रताको नाममा पत्रकारिता क्षेत्र अराजक बन्दै गएकाले लाइसेन्सको व्यवस्था अनिवार्य गर्नुपर्ने बताए । पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकार लाइसेन्सको व्यवस्था गर्दा लाइसेन्स प्रक्रियामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले एउटा मोबाइलले सिंगो पत्रकारिता क्षेत्रमा चुनौती थपिएको भन्दै काउन्सिलको कार्यक्षेत्र, भूमिकालगायतका विषयमा सरोकारवाला निकायहरु नेपाल पत्रकार महासंघ, पेसागत संघ संगठन, विज्ञ लगायतसँग छलफल बहस गरी अघि बढ्नुपर्ने बताए । काउन्सिल त्यसखालको बहसका लागि सदैव तयार रहेको उनको भनाई थियो ।




प्रतिक्रिया