हेटौंडामा पौडी खेल्ने क्रममा १४ वर्षीय बालकको ज्यान गयो

हेटौंडामा पौडी खेल्ने क्रममा १४ वर्षीय बालकको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको हेटौंडामा साथीहरूसँग पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेका हेटौंडा–१७ का १४ वर्षीय युकेश राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १:१५ बजे साथीहरूसँग पौडी खेलिरहेका बेला युकेश अचानक पानीमा डुबेर बेपत्ता भएका थिए ।

घटनापछि तत्काल खोजी सुरु गरिएको थियो। स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा डुबेको स्थानबाटै उनलाई निकालिएको थियो ।

उद्धारपछि युकेशलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

घटनापछि बालकको शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

युकेश डुबेको खबर पाएलगत्तै प्रहरी चौकी चौघडाबाट टोली घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा खोज तथा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

वर्षायाममा पानीको सतह बढ्ने र जोखिमयुक्त स्थानमा दुर्घटनाको सम्भावना रहने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

पानी जमेको खाल्डो, खोला तथा डुबान क्षेत्र नजिक बालबालिकालाई जान नदिन र बाढी आएको समयमा जोखिम मोलेर खोला वा जलमग्न सडक पार नगर्न प्रहरीले अनुरोध गरेको छ ।