राष्ट्रपतिको उपचारमा लागेको ५५ लाख सरकारले नै बेहोर्ने


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ। जसअनुसार राष्ट्रपति पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्च भएको थियो ।

राष्ट्रपतिको उपचारमा सरकारी कोषबाट खर्च भएको भनेर आलोचना भएपछि राष्ट्रपति पौडेलले भारतमा उपचारका क्रममा लागेको खर्च सरकारबाट नलिने चाहना आफ्नो रहेको प्रष्टीकरण दिएका थिए। अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय गरेको छ।

परराष्ट्रका उपसचिव भेष प्रसाद भुर्तेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ निकासा गरिदिन अनुरोध छ ।’ राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स ९एम्स० अस्पतालमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement