अब कसरी अघि बढ्ला पल शाहविरुद्धको बलात्कार मुद्दा ?


काठमाण्डु- कलाकार पूर्णविक्रम शाह (पल)पूनः चर्चामा आएका छन् । पलविरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएपछि उनी पूनः चर्चामा आएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको शुक्रबारको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको थियो ।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो। उक्त निवेदनमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले दोहोर्‍याएर हेर्न आदेश जारी गरेको हो।

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले ४ फागुन २०७९ मा सुनाएको फैसलामा प्रमाणहरुको समुचित मूल्याङ्कन नगरिएको सर्वोच्चले ठहर गरेको छ। सर्वोच्चले फेरि मुद्दालाई दोहोर्‍याएर हेर्ने भएपछि अब यो मुद्दा कसरी अघि बढ्छ भन्ने सबैमा चासो छ । जिल्ला र उच्च अदालतबाट सफाइ पाएर ‘ढुक्क’ भएका शाह सर्वोच्चले दोहोर्‍याएर मुद्दा हेर्ने निर्णय गरेपछि फेरि कानुन व्यवसायी खोज्नतर्फ लागेका छन् ।

पीडित नाबालिकाले फेरेको बयानमा उच्चले सफाइ दिएकोबारे सर्वोच्चले उठाएका प्रश्न

यसभन्दा अघि पल शाहले आफूलाई बलात्कार गरेको भन्दै दिएको बयान पीडित नाबालिगले एकाएक अदालतमा बकपत्र दिदाँ बयान फेरेकी थिइन् । तनहुँ जिल्ला अदालतमा आइतबार भएको बकपत्रमा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन । उनले बयान दिने क्रममा पल शाह निर्दोश भएको भन्दै आफू दबाबमा परेर उजुरी दिएको भन्दै न्यायाधीश समक्ष रोइन् ।

पीडित नाबालिकाले फेरेको बयानलाई आधार मानेर उच्च अदालतले पल शाहलाई सफाई दियो । तर, सर्वोच्चले पल शाहको मुद्दामा उच्च अदालत पोखराको अन्तिम फैसलामा केही प्रश्न उठाएको छ।

न्यायाधीशद्वय माथेमा र फुयालको इजलासले उच्चको फैसलालाई लिएर मुख्य रुपमा व्याख्या र सिद्धान्तमाथि केही प्रश्न उठाएको हो । सर्वोच्चले पीडित नाबालक रहेको देखिएकाले पीडितको बकपत्र तथा प्रतिवादीको बयानका साथै शारीरिक परीक्षण प्रतिवेदन, चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्डको उचित मूल्याङ्कन नभएको देखिएको सर्वोच्चको आदेशमा भनिएको छ।

सर्वोच्च अदालतले पललाई सफाइ दिने फैसला प्रमाण ऐन २०३१, मुलुकी अपराध संहिताको व्याख्यात्मक टिप्पणी र सर्वोच्चबाट भएको फैसलाले प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएको भनि आदेशमा टिप्पणी गरेको छ। सर्वोच्चले यही आधारमा टेकेर निस्सा दिएकाले आगामी दिन यही प्रश्नभित्र रहेर फैसलाको बहस हुने छ।

शाहविरुद्ध सुरुमा २ वटा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। नवलपुर र तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर भएको थियो।

जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिइ बाल यौन दुरुपयोग ठहर गरेको थियो। तनहुँ जिल्ला अदालतले सबै अभियोगमा सफाइ दिएको थियो। नवलपुरले दोषी ठहर गरेपछि शाह उच्च अदालत पोखरा पुगेका थिए। उच्चले समग्र सबै अभियोगमा सफाइ दियो। यसरी समग्रमा सफाई दिएपछि सरकारी पक्ष पुनरावेदनको निवेदन लिएर सर्वोच्चसम्म पुगेको हो ।

अब कसरी अघि बढ्ला पल शाहविरुद्धको बलात्कार मुद्दा ?

सर्वोच्च अदालतले पलविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने निस्सा प्रदान गरेसँगै अब यस मुद्दाको छिनोफानो सर्वोच्चबाटै हुनेछ। तत्कालका लागि पल शाह थुनामै जानुपर्ने अवस्था त छैन । तर, सर्वोच्च अदालतले पनि उच्च अदालतकै फैसला सदर गर्छ कि दोषी ठहर गर्छ भन्ने कुरा भने फैसलापछि मात्रै थाहा हुनेछ।

सर्वोच्च अदालतले उच्च अदालतको फैसला उल्टाएर शाहलाई दोषी ठहर गरेमा शाहले प्रहरी हिरासत र जेलमा बसेको समय घटाएर बाँकी समय जेलमा बस्नुपर्ने हुन सक्नेछ। बलात्कार भएको भनिएको समयमा पीडित भनिएकी नाबालिकाको उमेर १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम रहेको कारण कसुर ठहर भएमा शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजाय हुनेछ।

उक्त सजायमा उनी जेलमा बसेको समय घटाएर बाँकी कैद भुक्तान गर्नुपर्नेछ। १८ वर्षमुनिका बालिकासँग सहमतिमै सम्बन्ध राख्दा पनि बलात्कारसरह हुने कानुनी व्यवस्था छ । १८ वर्षमाथिको पीडित भएको अवस्थामा उसको बयानलाई मुख्य आधार मानिने भए पनि नाबालिकाको हकमा अदालतले अन्य प्रमाणसमेत हेर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement