पेगासेस प्रकरणबारे परराष्ट्र मन्त्रालयले भन्योः राजदूतको रिपोर्टको पर्खाइमा छौं


काठमाण्डु – भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यको फोन ह्याक भएको खुलासा भएको छ । इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित राजदूत आचार्यसहित अन्य देशका कूटनीतिज्ञहरुको फोन ह्याक गरिएको हो ।

फ्रान्सेली अखबार ले मोन्डेकाअनुसार नेपालसहित चीन, अफगानस्तान, साउदी अरब, इरानका राजदूतहरुको फोन ह्याक गरिएको खुलासा भएको छ ।

१७ वटा अन्तराष्ट्रिय अखबारहरुले इजरायली सफ्टवेयर कम्पनी पेगासेसले विभिन्न व्यक्तिहरुको फोन ह्याक गरेर डाटा संकलन गरेको खुलासा गरेका थिए ।

अमेरिकास्थित वासिङ्टन पोस्ट, बेलायतमा रहेको द गार्जियन र भारतमा रहेको द वायरले सोमबार सार्वजनिक गरेको समाचारमा जासुसीको सम्भावित सूचीमा बेलायती उच्च आयोगका अधिकारी, दुई अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का दुई अधिकारी र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी समेत रहेको उल्लेख छ ।

ले मोन्डेका अनुसार सन् २०१७ को जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलको भ्रमण गरे लगत्तै ‘पेगासेस’ सफ्टवेयरको प्रयोग गर्न सुरु गरिएको थियो । उक्त भेटमा मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच गोप्य छलफल समेत भएको थियो ।

फ्रेन्च पत्रिका ‘ले मोन्डे’ लाई उद्धृत गर्दै ‘द हिन्दु’ले सन् २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा दिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्बन्धित एक फोनकल पनि रहेको दाबी गरेको छ ।

कुनै पनि देशले विदेशी कूटनीतिज्ञमाथि निगरानी गर्नु सामान्य मानिन्छ ।  भारतले फोन नै ह्याकिङ गरी जासुसी गरेको समाचारमा उल्लेख छ । तर, भारतले दिल्लीमा रहेका कुटनीतिज्ञहरुमाथि जासुसी गरेको आरोपलाई खण्डन गरेको छ ।

परराष्ट्र मन्त्रालयले उक्त विषयमा राजदूतको रिपोर्टको पखाईमा रहेको जवाफ दिएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नयाँ विषय भएकाले आफूहरु पनि थप अध्ययनको सिलसिलामा रहेको जानकारी दिइन् ।

‘यो विषय नयाँ खालको आएको छ । राजदूतको रिपोर्ट आएपछि आवश्यक कदम चाल्छौं । अहिले हामी पनि बुझ्दैछौं,’ प्रवक्ता लम्सालले काठमाण्डुपाटीसँग भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement