फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?


काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । कोरोना भाइरस महामारीकाबीच निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण निगमलाई पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा ८.८१ र ग्याँसमा ६४६.१६ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement