नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने अवस्था आएको हो ?


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले पट-पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि विवादित बनेका छन्।

सोमबार नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि करनदीप सिन्धुले लेखेको ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए्, ‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाण्डुका पार्टीहरूलाई, नेताहरूलाई पार्टीहरूसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट, हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तरक्रिया, सहकार्य हुने गर्‍यो। र हामीले नजिकबाट एक अर्काले चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्‍यो।’

प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिपछि प्रधानमन्त्री दाहालले नेपाली सार्वभौमिकताको विरुद्धमा संसद्को समेत अपमान हुनेगरि अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने अवस्था आएको हो? भन्ने प्रश्न समेत खडा गरेको छ ।

यसअघि २०७३ मा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाल्नुपर्ने समयमा भारत र चीनसँगको ‘कम्फरटेबल सरकार’को विषय पनि प्रचण्डले उठाएका थिए। त्यसबेला समेत प्रचण्डको सो अभिव्यक्तिको चर्को आलोचना भएको थियो।

उनले भनेका थिए, ‘नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एण्ड ब्यालेन्स पनि हुन्छ, देशको राजनीति सन्तुलनमा बस्छ। सवै छिमेकीहरुसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ। भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ। अझ भारतसँगको जो विशिष्ट सम्बन्ध छ। हाम्रो इतिहास, भूगोल, संस्कृति, धर्म परम्परा, अर्थतन्त्र, पानीढलो, खुला बोर्डर सवै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व, विकास हुँदैन। त्यसरी हेर्दा म के देख्छु– नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कन्फर्टेवल समीकरण हुँदैन। चीनको लागि पनि यो कन्फर्टेबल नै हुन्छ। यति राम्रो सम्भावना अहिले छ, यसमा जानुपर्‍यो भनेर मैले भनेको छु।’

संघीय संसद्का दुवै सदन अवरुद्ध
सोही विषयलाई लिएर बुधबार बसेका संघीय संसद्का दुबै सदन अवरुद्ध भएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र राष्ट्रियसभामा अवरोध गरेको हो । दुबै बैठकमा एमालेका सांसदहरूले प्रधानमन्त्री दाहालको कडा आलोचना गर्दै राजीनामा मागेका छन् । सांसद रघु पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिबाट देश नै रोएको भन्दै उहाँले देशको गरिमा मेटेको टिप्पणी गर्नुभयो । सांसद पन्तले प्रधानमन्त्री दाहालको राजीनामा पनि माग गरे।

’सम्माननीय प्रधानमन्त्री पनि भनौँ कि नभनौं खै ,’ सांसद पन्तले भने, ’नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसद्ले बनाउँछ ?’ उनले अघि भने,‘ प्रधानमन्त्रीको यो अभिव्यक्तिले प्रत्येक नेपालीको स्वाभिमानमा ठेस लागेको छ, नेपाल रोएको छ। यो प्रधानमन्त्रीले बालेको कुराले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा रहिरहन मिल्दैन। उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।’

पन्तले संसद् बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै राजीनामा नआएसम्म संसद् अगाडि बढ्न नसक्ने भनेपछि रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गर्न खोजे पनि सांसदहरूको विरोधले संसद् बैठक अवरुद्ध भएको थियो । आज नै राष्ट्रिय सभा बैठक पनि एमालेका सांसदले विरोध जनाउँदा अवरुद्ध भएको छ ।

त्यहाँ पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको थियो । बैठक सुरु भएदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले राजीनामा माग गरेका थिए।

आफूले दिएको अभिव्यक्तिको बचाउमा प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री दाहालले भने आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् । बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाण्डुमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन्।

आफूले पुस्तक विमोचन कार्यक्रममा सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको प्रधानमन्त्री दाहालले प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री दाहालले बेलुनरूपी बबन्डर चाँडै फुट्ने पनि दाबी गरे । यस प्रकरणले विपक्षीमा पूर्वाग्रह देखिएको समेत प्रधानमन्त्री दाहालको भनाइ छ ।‘ मैले भनेँ उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो । उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एक पटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही दिनेवाला छैन । ,’ प्रधानमन्त्री दाहालले भने ।

विश्लेषक भन्छन्ः दुर्भाग्य
विश्लेषकहरूले पनि प्रधानमन्त्रीकाे यस्तो अभिव्यक्ति आउनु गैरजिम्मेवारी र दुर्भाग्यभएको बताएका छन् । विश्लेषक लोक कृष्ण भट्टराईले प्रधानमन्त्रीले नेपालको सार्वभौमिकतामा आँच आउनेगरी अभिव्यक्ति दिएर ठूलो भुल गरेको बताए। प्रधानमन्त्री दाहालले केटाकेटीको शैलीमा कुरा गरेको बताउदै उनले सार्वजनिक रुपमा आत्मालोचना गर्न सुझाव दिए।

उनले भने, ‘प्रधानमन्त्री पदमा बसेको मान्छेले यस्तो अभिव्यक्ति दिन मिल्दैन प्रचण्डले भुल गरे। सार्वजनिक रुपमा आत्मालोचना गरुन् । नेपालका कुनैपनि प्रधानमन्त्रीले सार्वभौमिकतामा प्रश्न उठ्ने अभिव्यक्ति दिन पाइदैन। जनयुद्ध पनि उहाँले नै सञ्चालन गर्नुभयो तर यस्ता केटाकेटी कुरा गर्नेलाई कसरी नेता मान्ने?’

विश्लेषक हरि रोकाले पनि प्रधानमन्त्रीले कच्चा अभिव्यक्ति दिएको बताए। यद्यपि प्रितम सिंहले भन्दैमा दिल्लीले मानिहाल्ने वा नेपालका राजनीतिक दलहरुले स्वीकारिहाल्ने अवस्था नभएकाले यो ठूलो विषय नभएको उनको भनाई छ ।

प्रचण्डलाई दिल्लीले प्रधानमन्त्री बनाएको पुष्टि गर्न माओवादीको चुनौती
नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री भारतले बनाइदिएको भनेर पुष्टि गर्न चुनौती दिएको छ । माओवादीका नेता देवेन्द्र पौडेलले कसैले भनेकै आधारमा प्रधानमन्त्री नबन्ने भएकाले संसद्‌मा बहुमतले बनाएको प्रधानमन्त्रीलाई अन्यथा भन्न नमिल्ने बताए।

‘ बाहिर कसले के बोल्यो भन्ने विषय महत्वपूर्ण होइन कसैले शुभेच्छा राख्नु गलत हो र? अहिलेसम्म भारतले कसलाई प्रधानमन्त्री बनायो? पुष्टि गर्न सक्नुपर्‍यो । नेपालको संसद्‌मा बहुमतले बनाएको प्रधानमन्त्रीलाई जे पनि भन्न मिल्दैन।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement