सुन तस्करी प्रकरणः पूर्वआईजीपीद्वय सिंह र खनाल सीआईबीको निगरानीमा

सुन तस्करी प्रकरणः पूर्वआईजीपीद्वय सिंह र खनाल सीआईबीको निगरानीमा


काठमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल प्रहरीका दुई पूर्वप्रमुखलाई निगरानीमा राखेको छ ।

पूर्वमहानिरीक्षक धीरजप्रताप सिंह र सर्वेन्द्र खनाल सुन तस्करहरूसँग निरन्तर सम्पर्कमा रहेको पाइएकाले सीआईबीले उनीहरुलाई निगरानीमा राखेको हो ।

सुन तस्करी प्रकरण जाँचबुझ आयोगले ६१ किलो सुन तस्करी र अन्य प्रकरणमा सिंह र खनाललाई सुन तस्करहरूसँग निरन्तर सम्पर्कमा रहेको ठहर गर्दै निगरानीमा राख्न सिफारिस गरेको थियो ।

सुन तस्करी प्रकरण जाँचबुझ आयोगले उनीहरुलाई निगरानीमा राख्न सिफारिस गरेसँगै गृहमन्त्री लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। गृहमन्त्रीको निर्देशन सँगै सीआईबीले सिंह र खनाललाई निगरानीमा राखेको स्रोतले बताएको छ ।

आइतवार सीआईबीले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो । यसअघि आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आफूले बुझेको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले प्रतिवेदनको सिफारिसको आधारमा दोषीमाथि कारबाही र कानुनी दायरामा ल्याउने बताएका बेला सीआईबीले प्रतिवेदन बुझेको हो ।