बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्रीबीच छलफल


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।

उपविदेशमन्त्री जियासहितको टोलीले आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेकाे हाे । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको बताइएकाे छ ।

तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जियाले तिब्बती शरणार्थी शिविर र बौद्ध क्षेत्रको भ्रमण समेत गरेकी छिन् । भारत भ्रमण सकेर जिया दुई दिनअघि काठमाण्डु आएकी हुन् ।

भारतमा रहँदा उनले दलाई लामासँग समेत भेट गरेकी थिइन् । उनको भ्रमणलाई लिएर चीनले चासोसमेत व्यक्त गरेको थियो । तिब्बतको मामिलामा नेपाल एक चीन नीतिमा अडिग छ ।

यस्तो अवस्थामा तिब्बत मामिला हेर्ने उच्च अधिकारीको भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनीहरुबीच भएको भेटमा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement