काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरै राम्रा काम गरिरहे पनि आलोचना मात्रै हुने गरेको भन्दै गुनासो गरेका छन् ।
काठमाडौंको महाराजगञ्ज क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले जतिसुकै विकास र सुशासनको काम गरेपछि बाहिर समाचार भने आफूले बाँसुरी बजाएको मात्र आउने गरेको बताए ।
‘सरकारले यति धेरै राम्रो काम गरिरहेको छ, तर समाचार खालि बाँसुरी बजाएको मात्र आउँछ,’ उनले भने, ‘देश विकास भएको देखीनसक्नेहरुको बौद्धिकता देख्दा गज्जव लाग्छ ।’
उनले दार्चुलामा बाँकी रहेको दुई वटा तुईनको फोटो देखाउँदै सरकारको आलोचना गरेको बताए । ‘अचम्म लाग्छ, दार्चुलामा दुई वटा तुइन बाँकी छ, त्यही फोटो खिचेर देखाइरहेको छ,’ ओलीले भने, ‘दिनमा ६ किलोमिटर बाटो पिच भइरहेको छ । सुशासनको काम, विकासको काम अघि बढाउँदा किन पिर परेको ?,’ उयनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले बिजुली, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने बताए । यसबाट जनतालाई पनि सहज हुने बताउँदै ओलीले भने, ‘चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम गरेका छौं ।’




प्रतिक्रिया