भियतनाम भ्रमण अत्यन्तै फलदायीः प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै फलदायी भएको बताएका छन् । साथै उनले भियतनाम पुगेर बुद्धको सन्देश सान्दर्भिकताबारे विश्व समुदायलाई जानकारी दिएको पनि बताए । पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण फलदायी रहेको बताएका हुन् ।

भ्रमणका बेला दुई पक्षीय महत्वपूर्ण सम्झौताहरु भएको र त्यो सम्झौता छिट्टै कार्यान्वयनमा आउने उनले बताए । सम्झौता कार्यान्वनका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको र यसले आजबाटै काम सुरु गरेको पनि उनले बताए ।

भ्रमणका बेला भएका सम्झौताले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन झनै मद्दत मिलेको भन्दै यसले दुई देशबीचको सम्बन्धलाई पनि मजबुद पार्ने काम गरेको बताए ।

भियतनामसँग कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भइसक्दा प्रधानमन्त्रीको स्तरमा भएको यो भ्रमण पहिलो रहेकाले पनि आफ्नो भ्रमण सफल रहेको उनले बताए ।

भ्रमणका क्रममा विभिन्न पक्षसँग घनिभूत छलफल गर्नुका साथै अब कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुनेमा विश्वास पनि व्यक्त गरे । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउने तर्फ भ्रमणले विशेष महत्व राख्ने उनले बताए ।

प्रधानमन्त्री ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनि यही वैशाख २६ गते त्यहाँ गएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement