सीके राउतलाई फकाउदैँ प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सकिे राउतबीच भेटवार्ता भएको हो । पछिल्लो समय जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चा भइरहेको छ ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चा भइरहेका बेला अध्यक्ष राउत प्रचण्डलाई भेट्न पुगेको हुन् । बालुवाटारमा उनीहरुबीच सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन राउटसँग आग्रह गरे । उनले जनमतलाई सरकारमा सहभागी गराउने आश्वासन दिएका छन् । आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा सहभागी गराउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका हुन् ।

पछिल्लो समय आफूसँग रुष्ट बनेका राउतलाई फकाउन प्रधानमन्त्री प्रचण्ड लागिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो ।  पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो ।

प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने आश्वासन दिएका थिए । अन्तिममा अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए । त्यसबेला सरकारबाट बाहिरीए पनि जनमतले सरकारलाई दिएको समर्थन भने कायमै रोखेको थियो । तर, आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएको जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनुपर्ने छ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड जनमतलाई सरकारमा ल्याउन चाहान्छन् । यसका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा लागेको जनमतका अध्यक्ष राउतलाई फकाईँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement