प्रधानमन्त्री पुत्र पोस्न सेनेटरी प्याडमा कर छुट,नेपाली उद्योग धरासायी भएको गुनासो


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुग्ने गरी सरकारले कर छुटको नीति लिएको खुलासा भएको छ । विदेशबाट आयात हुने प्याडमा भन्सार घटाएपछी स्वदेशी उद्योग धरासायी हुने भन्दै विरोध जनाएपनि सरकारले बजेटमार्फत नै भन्सार घटाउने निर्णय गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा प्रधानमन्त्री पुत्रलाई फाइदा पुग्ने गरी स्यानिटरी प्याडमा भन्सार घटाउने निर्णय गरेका थिए । प्रधानमन्त्री पुत्र जयवीरले ब्लुप्रिन्ट ट्रेडिङमार्फत सेनेटरी प्याडको आयात गरिरहेका छन् । सुरुमा यो कम्पनीमा उनको शतप्रतिशत शेयर थियो । पछी चितवनका हेमन्त बजगाईले ३० प्रतिशत शेयर खरिद गरेको देखिएको छ ।

प्रधानमन्त्रीको छोरालाई फाइदा पुग्ने गरी तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र उद्योगी विनोद चौधरीको पहलमा बजेटमै भन्सार सहुलियतको निर्णय भएको हो । पछिल्लो समय जयविरको ठुला व्यापारीक घरानासंग बाक्लो उठबस छ ।

बजेट आएकै भोलिपल्ट जयविरसहित शर्मा र चौधरीले ललितपुरस्थित श्रेष्ठको घरमा रात्रिभोज समेत गरेका थिए । उनको कम्पनीले ४० कन्टेनर प्याड चीनबाट अर्डर गरिसकेको छ । पछिल्लो समय जयवीरको चिनियां कम्पनीसंग समेत सुमधुर सम्बन्ध छ ।

जयवीरको कम्पनीले ल्याएको प्याडको संख्या कुल मागको ४० प्रतिशत हो । नेपालमा ६ अर्बभन्दा बढीको लगानी यो क्षेत्रमा रहेको छ भने ६ हजारभन्दा बढीले रोजगारी पाएका छन् । नेपालमा मागभन्दा बढी उत्पादन रहेको नेपाल सेनेटरी प्याड उत्पादक संघले जनाएको छ ।

सेनेटरी प्याडबाट जयवीरले अरबौं रकम कमाउने सम्भावना छ । नेपाली उद्योगलाई धरासयी बनाउने गरी आयातमा ९० प्रतिशत भन्सार छुटको व्यवस्था गरेपछी अर्थमन्त्री शर्माको त्यतिबेलै चर्को आलोचना भएको थियो । तर, प्रधानमन्त्री देउवा र उनकी पत्नीको अगाडी शर्मा नतमस्तक बनेर उक्त निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement