नेपालको पानी जनताको लगानी कार्यक्रम :प्रधानमन्त्रीले १० हजार र उर्जामन्त्रीले किने एक हजार कित्ता सेयर


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयर किनेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको १०हजार कित्ता शेयर किनेका हुन् ।

 यस्तै उर्जामन्त्री वर्षमान पुनले पनि १००० कित्ता शेयर किनेका छन् । प्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जनताले गर्नु भएकाले त्यसमा विश्वास दिलाउन शेयर किनेको बताएका छन् । प्रधानमन्त्री ओलीले माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) का लागि आवेदन दिएसँगै आजैबाट सर्वसाधारणका लागि समेत आवेदन खुला गरिएको छ ।

सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुलाएको हो ।  सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ ।आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा २ वटा डिम्याट खातासमेत खोलेका थिए ।

आमसर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले पहिलो सेयर प्रधानमन्त्रीले किन्ने कार्यक्रम बनेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । गत फागुन २ गते ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए ।

नेपाली नागरिकको लगानीमा नै तीन हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरू गर्न लागिएको हो ।
त्रिशूली जलविद्युत् कम्पनीका अनुसार, पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement