पोखरा–भरतपुर–लुम्बिनीबिच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा–भरतपुर–लुम्बिनीबिच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भरतपुर महानगरपालिका र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच पर्यटन प्रवर्द्धनको साझा उद्देश्यसहित ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा त्रिपक्षीय समझदारी भएको छ ।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा देशका ३ प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यका बिचमा पर्यटन क्षेत्रको दिगो विकास, सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन तथा राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा संयुक्त रूपमा प्रवर्द्धन गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारी–पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार ३ वटै स्थानीय तहले संयुक्त रूपमा पर्यटन ब्रान्डिङ, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन ‘कनेक्टिभिटी’ विस्तारमा सहकार्य गर्ने उल्लेख छ । तीनै गन्तव्यलाई समेट्ने गरी एकीकृत पर्यटन प्याकेज विकास गर्ने विषयसमेत समेटिएको छ ।

समझदारीअनुसार प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट)’ आयोजना गर्ने, आवश्यकताअनुसार व्यवसायदेखि–व्यवसाय (बीटूबी) तथा सरकारदेखि–सरकार (जीटूजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने विषय समेटिएको छ ।

प्रत्येक महानगर तथा नगरपालिकाले आफ्नो वार्षिक नीति कार्यक्रम तथा बजेटमा सिल्भर ट्रयाङ्गलको प्रवर्द्धन र विकासलाई समावेश गर्ने, सिल्भर ट्रयाङ्गल सहकार्यको नेतृत्व प्रत्येक वर्ष पालैपालो प्रणालीमा तीनै स्थानीय तहले गर्ने उल्लेख छ ।

यसैगरी तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गर्ने तथा प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि रहेको छ ।

पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समावेश गरिएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले समझदारीबाट तीन वटै पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासमा सहयोग पुग्ने बताए । ‘पोखरा, भरतुपर र लुम्बिनी देशका प्रमुख पर्यटकीय गन्तव्य हुन् । यी गन्तव्यहरूलाई एउटै पर्यटन सर्किटमा जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र पर्यटकको बसाइ अवधि  बढाउने उद्देश्यले अवधारणा अघि सारिएको हो,’ आचार्यले भने ।