प्रहरीले गर्‍यो कार्यसम्पादन सम्झौताको प्रथम त्रैमासिक समीक्षा


काठमाण्डु – नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौताको प्रथम त्रैमासिक कार्यप्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गत साउनदेखि असोजसम्म ३ महिनाको प्रगति समीक्षा गरिएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समयसापेक्ष सांगठनिक विकासका साथै प्रहरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आन्तरिक शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्य अनुरूप गरिएको कार्ययोजना सम्झौताको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण प्रहरी कार्यालयहरू प्रतिबद्ध हुनुपर्ने बताए । समग्र कार्यालयको काम सन्तोषजनक भए पनि प्रहरी सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउँदै आम नागरिकले सहज सेवा पाउने गरी काम गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक कुँवरले पेशागत मर्यादालाई ध्यानमा राखेर आर्थिक पारदर्शिता र निष्ठा कायम गर्दै कार्यसम्पादन गर्न प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए । कार्यसम्झौता कार्यान्वयनमा देखिएका चुनौतीको सामना गर्दै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यक सहयोग प्रदान गर्ने उनले उल्लेख गरे ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवं अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्यप्रगति विवरण लगायतका विषय समेटिएका थिए ।

काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिले समेत आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरू लगायतका विषयहरू समेटिएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरू तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement