नागरिकको अपेक्षालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न आईजीपी कार्कीको निर्देशन

नागरिकको अपेक्षालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न आईजीपी कार्कीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले परम्परागत पुलिसिङभन्दा पनि नवीनतम सोच र कार्यशैली अपनाई नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवम् प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उनले उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिए ।

आईजीपी कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी संगठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले बहन गर्न निर्देशन दिए । संगठनले अख्तियार गरेका नीतिनियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थभन्दा पनि भातृत्वभाव एवम् सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवम् कानुनसम्मत कार्य गर्न सरूवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।

आईजीपी कार्कीले आ–आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकताअनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सीमान्तकृत वर्गप्रति थप संवेदनशील हुनुपर्ने र आपतविपद् एवम् दु:ख पीडामा प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूको समस्यालाई उचित सम्बोधन गर्नेतर्फ उनले विशेष जोड दिए । प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने उल्लेख गर्दै गुनासो तथा उजुरीको लागि क्यूआर कोडको प्रयोग तथा एसएमएसमार्फत भए/गरेका प्रगतिहरूबारे जानकारी दिने व्यवस्था गर्नुपर्ने समेत उनले बताए ।

हिरासत कक्षलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिनुपर्ने, प्रमाणमुखी एवम् वस्तुनिष्ठ अपराध अनुसन्धानमा जोड दिँदै अपराध न्यूनीकरणमा सचेतना सँगसँगै नागरिकसँग सहकार्य गर्नुपर्ने, सीमा अपराध, तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्नुपर्ने, दुर्घटना न्यूनीकरणमा थप सक्रिय हुनुपर्ने एवम् कनै पनि विपद्का घटनामा तत्काल खटिन सक्ने गरी पूर्व अभ्यासका साथ प्रहरी कर्मचारीहरू तयारी हालतमा रहनुपर्ने उनले बताए ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठ, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर विक र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवम् समसामयिक विषयमा निर्देशन समेत दिए ।