रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ ।

गत जेठ र असार महिनामा सबैभन्दा यिनै २ विषयमा सबैभन्दा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

गत जेठमा जिल्लामा ५९ वटा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो भने असारमा सोही प्रकृतिका ५८ वटा मुद्दा दर्ता भएका थिए ।

गत असारमा नै रूपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो । त्यसबेला १ भारतीय नागरिक र ५ नेपाली नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट १ हजार दरका नक्कली नेपाली नोट छाप्ने मशिन तथा ५ लाख ९२ हजार रूपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको थियो ।

जिल्लामा महिला र जेष्ठ नागरिकतर्फका उजुरी पनि उल्लेख्य रहेको छ । जेठ महिनामा घरेलु हिंसा ९३ वटा उजुरी परेको छ भने असारमा ९९ वटा उजुरी दर्ता भएको छ । छिमेकीसँगको झगडासम्बन्धी ठाडो उजुरी पनि उल्लेख रहेको छ । रूपन्देही प्रहरीक अनुसार जेठमा ७२ वटा त्यस्तो ठाडो उजुरी दर्ता भएकामा असारमा ६३ वटा ठाडो उजुरी दर्ता भएको थियो ।

जेठमा जम्मा १८२ वटा अपराधका घटना दर्ता भएका थिए भने असारमा १७६ वटा मुद्दा दर्ता भएका थिए ।

त्यसैगरी जेठमा सामाजिक अपराधका ५२ वटा दर्ता भएकामा असारमा त्यस्तो मुद्दा २१ वटा दर्ता भएको थियो । जिल्ला ज्यानसम्बन्धी उजुरी पनि अत्यधिक हुने गरेको छ । जेठमा २३ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएकामा असारमा ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले जेठमा २४३ जनालाई पक्राउ गरेको थियो भने असारमा १६१ जनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नावय उपरीक्षिक कृष्णकुमार चन्दका अनुसार आर्थिक अपराधका घटना प्रहरीका लागि चुनौतीका रूपमा खडा भएको छ । चेक बाउन्स र अनलाइन फ्रडका कारण सर्वसाधारण मर्कामा पर्ने गरेको उनको भनाइ छ । जिल्लाको ग्रामीण क्षेत्रमा अशिक्षाका कारण पनि सामाजिक एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको उनले बताए ।