नागरिकलाई बिझाउने हर्कत : सर्वेन्द्र खनालको नेतृत्वमा प्रहरी इतिहासमै सर्वाधिक बद्नाम !


काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनेपछि सर्वेन्द्र खनालले प्रहरीलाई उत्कृष्ठ बनाउने गफ सुनाउँछन् । तर प्रहरीका हर्कत सर्वसाधारण नागरिकलाई बिझाउने र संगठनलाई बद्नाम गराउने खालका छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रहरी सर्वाधिक बद्नाम भएको छ । अपराध अनुसन्धानमा लापरवाही गरेको र प्रमाण नष्ट गरेको अभियोगमा सरकारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिसकेको छ । तर प्रहरी अधिकारीले किन गैरव्यावसायिक काम गरे ? यो प्रश्नको जवाफ अझै रहश्यमै छ ।

प्रहरी संगठनको साख सर्वसाधारणको नजरमा गिरिरहेको र एकपछि अर्काे विवादित काम भइरहँदा समेत आईजीपी खनालले अकर्मण्यता प्रदर्शन गरिरहेका छन् । खनालको मौनता हेर्दा अकर्मण्यता मात्रै नभएर गैरव्यावसायिक हर्कतमा संलग्नता र मिलेमलो हो कि भन्ने आशंका गर्न सकिने देखिन्छ । खनालको नेतृत्वमा थुप्रै प्रहरी अधिकारी घुस र भ्रष्टाचार काण्डमा समेत मुछिएका छन् ।

निर्मला पन्त हत्या प्रकरणको छानबिनमा प्रहरीले उल्लेख्य प्रगति हासिल गर्न नसकेको बेला देशभर न्यायको आवाज फेरि चर्किन थालेको छ । दशैंतिहार चाडपर्वको बेला न्यायको आवाज सेलाएजस्तो देखिएपनि न्यायका पक्षका अभियन्ता सक्रिय भएका छन् । देशभर निर्मलालाई न्याय माग्दै पोस्टर टाँस्ने काम भइरहेको छ ।

न्याय माग्ने अभियन्ता सक्रिय भइरहेको बेला प्रहरीले शुक्रवार फेरि संगठन नै बद्नाम हुने काम गरेको छ । निर्मला पन्तलाई न्याय माग्दै काठमाडौंमा टाँसिएका पोस्टर च्यात्न प्रहरी नै सक्रिय भएको तस्वीर सार्वजनिक भएपछि प्रहरीको नियतमाथि नै प्रश्न गर्न थालिएको छ । न्याय माग्दै टाँसिएका पोस्टर च्यातेर निर्मला पन्त प्रकरणमा प्रहरीले भिलेनको भूमिका किन खेलिरहेको छ ? आईजीपी सर्वेन्द्र खनालको के स्वार्थ छ ?

सर्वसाधारणले यी प्रश्नको उत्तर दिन नसकेपनि प्रहरीको नियतलाई शंकास्पद दृष्टिले सहजै हेर्न सक्ने देखिन्छ । तर सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको प्रहरी संगठन नागरिकको नजरमा बद्नाम भइरहँदा प्रहरी नेतृत्व अकर्मण्य देखिनु झनै शंकास्पद छ । प्रहरी बद्नाम भएको टुलुटुलु किन हेरिरहेका छन् आईजीपी खनाल ?

प्रहरीका विवादित हर्कतले दुईतिहाई समर्थन प्राप्त सरकारलाई समेत अप्ठ्यारोमा पार्र्ने गरेको छ । प्रहरीका कर्तुतको अपजस सरकारमाथि आइलाग्दा सरकारलाई बद्नाम गर्न खोज्नेहरूलाई सहज हुने गरेको छ । आँखिर सर्वेन्द्र खनाल सरकारलाई बद्नाम गर्न खोज्नेहरूको गोटी किन बनिरहेका छन् ? दुईतिहाई सरकारकै गतिमा प्रहरी संगठनलाई किन परिचालन गरिरहेका छैनन् ? थुप्रै प्रश्नले प्रहरी संगठन घेरिएको छ । तर प्रहरी नेतृत्वसँग न मौखिक जवाफ, न त व्यावहारिक नै ।

प्रहरी महानिरीक्षक भएपछि सर्वेन्द्र खनालले संगठनलाई नमूना बनाउने भन्दै १० बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए । सातै प्रदेशको निरीक्षण तथा क्षेत्रीय गोष्ठी सकेर राजधानी फर्किएपछि खनालले संगठनलाई चुस्त, आधुनिक प्रविधियुक्त र जनउत्तरदायी बनाउन प्रहरीले गर्नुपर्ने महत्वपूर्ण कार्यको पहिचान गरी १० बुँदा सार्वजनिक गरेको बताएका थिए । तर व्यवहारमा त्यस्तो देखिएन ।

यसबीच खनालले नेपाल प्रहरीलाई एसियाकै उत्कृष्ठ बनाउने समेत भन्न भ्याएका छन् । तर त्यो घोषणा भाषणमै सीमित भएको छ । सर्वेन्द्र खनालको नेतृत्वले प्रहरी एसियाकै बद्नाम हुने अवस्थामा पुग्ने देखिन्छ । शान्तिपूर्ण रुपमा न्यायको माग गर्दै प्रदर्शन गर्ने र पोस्टर टाँस्नेहरूमाथि धरपकड गर्दै पोस्टर च्यात्नमा प्रहरी नै लागेपछि प्रहरीको नेतृत्वमाथि गम्भीर प्रश्न खडा भएको छ । 

प्रहरी नेतृत्व नागरिकका लोकतान्त्रिक र संवैधानिक अधिकार खोस्ने बाटोमा किन हिँडिरहेको छ ? लोकप्रिय मत पाएर बनेको सरकारलाई नै अलोकप्रिय बनाउने गरी प्रहरी नेतृत्वले किन काम गरिरहेको छ ? प्रहरी नेतृत्वले जवाफ नदिएपनि यी प्रश्नको जवाफ समयले दिँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement