कोरोना भाइरसबारे चेपाङ बस्तीमा प्रहरीको सचेतना कार्यक्रम


मुग्लिन – चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरु लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालयको समन्वय, जिल्ला प्रहरी कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा चेपाङ समुदायको बाहुल्य रहेको इच्छाकामना वडा नं ३ को धुसागाउँमा मङ्गलबार बृहत् सचेतना कार्यक्रमसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत सम्पन्न गरेको चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए ।

सो अवसरमा आयोजित सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविरमा झण्डै ३०० बढी स्थानीयवासी लाभान्वित भएका थिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वाग्मती प्रदेशभरका विभिन्न जिल्लाका नागरिकलाई यसप्रति सचेत बनाउन सचेतना कार्यक्रम आयोजना गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किशोरकुमार दाहालले जानकारी दिए ।

“कोरोनाविरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वाग्मती प्रदेशलाई यसको प्रकोप आउनुभन्दा पहिला नै जोगाउन र सीमान्तकृत चेपाङ समुदायलाई सचेत गराउँदै अभियान नै चलाएका हौँ”, निमित्त प्रमुख एसएसपी दाहालले भने ।

आम जनतालाई स्वास्थ्यप्रति सजग गराउन अभियान प्रभावकारी बन्ने गाउँपालिका प्रमुख गीता गुरुङले बताइन् । कार्यक्रममा पुरानो मेडिकल कलेज भरतपुरका डा वृद्धिकुमार श्रेष्ठले कोरोना भाइरस, विश्वमा वर्तमान समयमा यसको अवस्था, लक्षण र बच्ने उपायका बारेमा र प्रविधि प्रयोगसहित कोरोनाका बारेमा भिडियो सामग्रीसहित विशेष सचेतना प्रस्तुति प्रदेश प्रमुख दाहालले सहभागी चेपाङ समुदायलाई जानकारी गराएका थिए ।

कार्यक्रममा डा श्रेष्ठसहित जुनियर प्रहरी अधिकृत शिक्षालयकी प्रहरी निरीक्षक डा ऋचा निरौला, पुरानो मेडिकल कलेजका डा वृद्धिकुमार श्रेष्ठ, डा सम्पदा तिवारी, डा प्रकाश अर्याल, डा रोजशकुमार शाहले बिरामीको जाँच गरेका थिए । सो अवसरमा स्त्रीसम्बन्धी समस्या, हाडजोर्नी नशा तथा मुटुरोगका बिरामी बढी देखापरेको चिकित्सकले जानकारी गराएका थिए ।

पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कलेजले नै निःशुल्क औषधि तथा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि कलेजमा लगिने कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement