सक्कली नामका नक्कली रक्सी, यसरी सफल भयो प्रहरीको ‘अप्रेसन लिमा’


काठमाण्डु – प्रहरीले भारतबाट ल्याएर काठमाण्डुमा मदिराको अवैध कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ ।

प्रकाउ पर्नेहरुमा पर्साको गादी घर भई काठमाण्डुको बुढानीलकण्ठ क्षेत्रमा बस्ने सन्तोष चन्द्र बख्रेलसहित शैलेश पन्त, रविन पाख्रीन र नारायणप्रसाद घिमिरे रहेका छन् । घिमिरे नेपाली सेनाका पूर्व हवल्दार हुन् ।

उनीहरुले भारतबाट रेडलेबल, एब्सुलेट भोडका, चिभास रेगल लगायतका विभिन्न चलेका ब्रान्डका रक्सी नक्कली चोरी पैठारी गरी नेपाल ल्याएर कारोबार गर्ने गरेका थिए ।

भन्सार छलेर ल्याइएको मदीरा बेचबिखन गरेको गोप्य सूचनाका आधारमा प्रहरीले ‘अप्रेसन लिमा’ नाम दिएर अनुसन्धान थालेको थियो ।

शुक्रबार र शनिबार दुई दिन लगाएर प्रहरीले काठमाण्डुको बानेश्वर, कपन, रामकोट लगायतका स्थानबाट २९६ कार्टुन नक्कली ब्रान्डका रक्सी बरामद गरेको छ । प्रहरीका अनसार बरामद गरिएका मदिराको बजार मूल्य करिब एक करोड पचार लाख बराबर रहेको छ ।

बरामद भएका मदिराको गुणस्तर परीक्षणका लागि अनुसन्धान विभाग हरिहर भवन पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा बख्रेलको योजनामा भारतबाट राजस्व छली गरी विभिन्न ब्रान्डका मदिरा नेपालमा बिक्री वितरण गर्ने पाइएको प्रहरीले जनाएको छ ।

जब प्रहरी नै ग्राहक बने…

भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सीहरू आइरहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । सामान्य खुद्रा पसलमा पुगेर प्रहरीले अनुसन्धान पनि गर्‍यो । त्यहाँ भएका रक्सी ल्याएर चेक गर्दा नक्कली ब्रान्ड भएको खुल्यो ।

तर, ठुलो परिमाणमा कसले रक्सी ल्याइरहेको छ भन्ने थाहा पाउनु प्रहरीको लागि चुनौतीको विषय थियो । महानगरीय अपराध महाशाखाले अन्य अनुसन्धानमा झैँ यस पटक पनि एक खुद्रा व्यापारी भनेर अपरेसन सुरु गर्‍यो ।

प्रहरीले नक्कली रक्सी ल्याउनेसँग एक पसललाई प्रयोग गरेर १४ कार्टुन रक्सी अर्डर गर्‍यो ।यसरी अर्डर भएको केही समयमा नै रक्सी आइपुग्यो । महाशाखाबाट सिभिलमा खटिएका प्रहरीले १४ कार्टुन रक्सी आएपछि रक्सी ल्याउने मानिसलाई फलो गरे ।

शुक्रवार राति प्रहरीले यसरी मानिसलाई फलो गर्दै जाँदा काठमाण्डुको सीतापाइलास्थित एक घरमा पुगेर छापा मार्दा ठुलो परिमाणमा रक्सी बरामद भयो । शुक्रबार र शनिबार मात्रै २ सय ९० कार्टुन रक्सी बरामद गरेका छौँ । यो अपरेसन अझै जारी छ,’ महाशाखाका एसएसपी वसन्त कुँवरले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement