नेपाल प्रहरीका डीआईजीको सरुवा गर्ने गृह मन्त्रालयको तयारी


काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका केही डीआईजीहरुको सरुवा गर्ने भएको छ । मन्त्रालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका डीआईजी रामप्रसाद श्रेष्ठलाई सरुवा गर्ने आन्तिरिक तयारी सुरु गरेको हो ।

उच्च स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद शर्मा घिमिरेको पनि सरुवा हुँदै छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको कारण प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निर्वाचन आयोगमा सहमतिको लागि सरुवा सम्बन्धी फाइल पेश गरिसकेको छ ।

गण्डकी प्रदेशका डीआईजी घिमिरेको कार्यकाल करिब पाँच महिना मात्रै पुगेको छ । गृह मन्त्रालयले महानगरीय प्रहरी कार्यालयको प्रमुखमा डीआईजी केदार रिजाल र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा हालका प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई पठाउने तयारी थालेको छ ।

सीआईबीका (कार्यकारी निर्देशक) डीआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विद्यालय पठाएर महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई पुनः नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी नारायणसिंह खड्का र डीआईजी सूर्यप्रसाद उपाध्याय मध्ये एकजनालाई पठाउने तयारी थालिएको स्रोतले जानकारी दियो ।

खड्का प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रबन्ध निर्देशनालयको प्रमुख छन् भने उपाध्याय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement