गृहसचिव न्यौपानेले गरे प्रहरी अस्पतालको निरीक्षण


काठमाडौं – गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण गरेका छन् ।

गृहसचिव न्यौपानेले बुधबार नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपिडीहरु, ईमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आईसियु, प्रस्तावित कोरोना भाईरस क्वारेन्टाइन वार्ड, आइसोलेशन वार्ड, निर्माणाधिन रहेका गायनो, बाल वार्ड, महिला ब्यारेक र पार्किङको निरीक्षण गरेका हुन् ।

अस्पतालको निरीक्षणपछि गृहसचिव न्यौपाने भौतिक सुविधा बढाई थप गुणस्तरिय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अस्पतालमा विभिन्न भवनहरु निर्माणाधिन अवस्थामा रहेको सुखद पक्ष भएको चर्चा गर्दै उनले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकोले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताए ।

 

प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिक समेतको आशाको केन्द्र भएकोले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद गर्न नहुने उनले बताए । अस्पताल भन्नासाथ सरसफाई महत्वपूर्ण विषय भएकोले अस्पतालका हरेक स्थानहरुमा सरसफाईमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

अस्पतालमा ल्याबको गुणस्तरीयता बढाउने, बेड संख्या थप गर्ने, नर्सिङ कलेजको संचालन लगायतका कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले जानकराी दिए । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी कर्मचारीहरुको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता संगठनको उच्च प्राथमिकताको विषय भएको बताए ।

उनले रोगको पहिचान र मानवीय संवेदनासँग समेत जोडिएको विषय चिकित्सा सेवामा जोडिएर कर्तव्य पालना गर्न पाउनु कार्यरत प्रहरी कर्मचारीको अवसर भएकोले प्रहरी कर्मचारीहरुले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्दै सेवा प्रवाह गर्नुपर्ने बताए ।

गृहसचिवज्यूलाई सेवा प्रवाह सहित अस्पतालमा स्वागत गर्न पाउँदा हौसला प्राप्त भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्राप्त सारगर्भित निर्देशन सम्बोधनलाई अक्षरस पालना गरिने बताए । अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले प्रहरी अस्पतालको गतिविधि र भावी योजना सम्बन्धि जानकारी दिएकी थिइन् ।

उक्त कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुखहरुले २४ घण्टाभित्र अस्पतालमा भएका गतिविधिहरुबारे संक्षिप्त जानकारी गराएका थिए । निर्देशन सम्बोधन कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement