प्रहरीमा एआईजी बढुवा नगरी उच्च अधिकारीको सरुवा : बिवादितलाई ठाउ दिएको आरोप


काठमाडौं – सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) मा बढुवा नगरी एआइजीकै दावेदार रहेका डिआइजीलाई सरुवा गरेको छ। गृहमन्त्रालयले प्रहरी नायव महानिरिक्षक (डिआइजी) हरु सरुवा र पदस्थापन गरेको हो ।

प्रहरी महानिरीक्षक (आइजीपी)को नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आइजीपीका ब्याची पाँच जना डिआइजीलाई सरुवा गरेको छ भने एक हप्ता अघि बढुवा भएका १६ जना डिआइजीको पदस्थापन गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । आइजीपीको प्रतिस्पर्धी समेत रहेका कार्कीको सरुवा प्रतिष्ठानमा भएको हो । यसअघि रमेशचन्द ठकुरी आइजिपी हुँदा उनका प्रतिस्पर्धी रविन्द्रप्रताप शाहलाई पनि प्रतिष्ठानमै सरुवा गरिएको थियो भने उपेन्द्रकान्त अर्याल आइजिपी हुँदा प्रतिस्पर्धी राजेन्द्रसिंह भण्डारीले आफैं प्रतिष्ठानमा सरुवा मागेका थिए।

प्रायः आइजिपीको प्रतिस्पर्धी रहेका एआइजी वा डिआइजीलाई त्यहाँ सरुवा गरिने परम्पराको रुपमा विकास हुन थालेको छ । प्रवक्ता समेत रहेका मनोज न्यौपानेलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । त्यस्तै धिरु बस्नेतलाई अपराध अनुसन्धान विभाग, छविलाल जोशीलाई कार्यविभाग र ज्ञानविक्रम शाहलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । डिआइजी ठूले राई, उत्तम कार्की र पवन खरेलको भने सरुवा भएको छैन । सरुवा भएका डिआइजीलाई एआइजीको दरवन्दी भएका स्थानमा सरुवा गरिएको छ । सिआइवीमा भने कसैलाई पनि सरुवा गरिएको छैन।

यसैगरी डिआइजीमा बढुवाहरुमध्ये प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपककुमार थापा, प्रदेश ४ मा दानसिंह बोहोरा, आइजपी सचिवालयमा सरुवा भएका शेरबहादुर बस्नेतलाई प्रदेश ५को समेत जिम्मेवारी तोकिएको छ । त्रिभुवनविमानस्थल सुरक्षागार्ड प्रमुखमा कमल जिटीलाई पठाइएको छ । श्याम खड्का राष्ट्रिय सुरक्षा परिषद् र महेशविक्रम शाह प्रहरी प्रधानकार्यालयको तालिम निर्देशनालयमा पदस्थापन गरिएको छ । महेन्द्रकुमार पोखरेल जुनिएर प्रहरी तालिम निर्देशनालय भरतपुर, सुरज केसी प्रहरी प्रधान कार्यलयस्थित सुरक्षा निर्देशनालयमा पदस्थापन गरिएको छ।

विवादित एसपीलाई मुख्य जिल्लाको जिम्मेवारी

प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवामा बद्नाम छवि भएका व्यक्तिहरुले सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिएका जिल्लाको प्रमुखको जिम्मेवारी पाएका छन्।

२०६८ सालमा रसुवा जिल्लाको प्रहरी प्रमुख हुँदा रक्तचन्दन तस्करी प्रकरणमा मुछिएका ओम रानालाई कास्की जिल्लाको प्रमुख बनाइएको छ । राना रसुवा जिल्ला प्रमुख हुँदा सोही प्रकरणमा मुछिएका नेपाली सेनाका अर्हिदमन गणका प्रमुख रामजी थापालाई कोर्टमार्शलमार्फत बर्खास्त गरिएको थियो । त्यतिबेला रानासँगै नुवाकोटका प्रहरी प्रमुख बालकृष्ण थापालाई पनि कारबाहीको सिफारिस गरिएको थियो ।

थापाको भने शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा जागिर गइसकेको छ । राना महानगरीय प्रहरी अपराध महाशाखामा तथा महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा पनि विवादित भएका थिए।

त्यस्तै रुपन्देही जिल्ला प्रहरी कार्यालयमा डिएसपी हुँदा लागूऔषध तस्करसँग घुस लिएको आरोपमा निलम्बनमा परेका रामेश्वर यादवलाई सिन्धुली जिल्लाको प्रहरी प्रमुख बनाएर पठाइएको छ । उनलाई ललितपुरस्थित सातदोवाटो प्रहरी वृत्तमा कार्यरत रहँदा पनि जुवाडेहरुसँग पैसा लिएको आरोपमा ललितपुरका तत्कालिन एसएसपी ठूले राईले स्पष्टिकरण लिएका थिए । त्यस्तै प्रहरी निरीक्षक हुँदा वटु सुन काण्डमा मुछिएका लोकेन्द्र श्रेष्ठलाई मकवानपुर जिल्लाको प्रमुख बनाएर पठाइएको छ। आजको नागरीक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement