नेपाल प्रहरीका ३७ उपरीक्षक पदमा बढुवा हुन दुई ब्याचका ६९ जनाबीच रस्साकस्सी

नेपाल प्रहरीका ३७ उपरीक्षक पदमा बढुवा हुन दुई ब्याचका ६९ जनाबीच रस्साकस्सी


काठमाण्डु – नेपाल प्रहरीमा उपरीक्षक (एसपी) मा रिक्त रहेका ३७ पदमा बढुवा तयारी भएको छ । रिक्त पदमा बढुवा गर्नका लागि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको बढुवा समिति बैठक बस्ने तयारी छ ।

महानिरीक्षक कुवर संयोजक रहने समितिमा उनले तोकेको एआइजी वा डिआइजी सदस्यसचिव र गृह मन्त्रालयका सहसचिव सदस्य रहने व्यवस्था छ ।

बुधबार मात्रै २५ एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त एसपीको संख्या ३७ पुगेको हो । यसअघि १२ एसपीको पद रिक्त थियो ।

प्रहरीको मानव स्रोत विभागले सकभर आजै बढुवा समिति बैठक बसेर बढुवा सिफारिस गर्ने तयारी रहेको जानकारी थियो । प्राय बढुवा समिति बैठक शुक्रबार बस्ने भएकाले पनि आजै बसेर बढुवा सिफारिसको सम्भावना रहेको जानकारी स्रोतले दियो ।

एसपीमा बढुवा हुन २०७२ चैत १६ मा डीएसपी भएकाहरू र त्यसको १६ महिनापछि डीएसपी भएकाहरू गरी ६९ जना मुख्य प्रतिस्पर्धामा छन् । उनीहरू मध्येबाट ३७ जना एसपी बढुवा सिफारिस हुनेछन् ।