वायुप्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

वायुप्रदुषणको दुष्प्रभाव र बच्ने उपाय


-डा.रवी महत

ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको उडान समेत रोकिएको अवस्था छ । पछिल्लो समय अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरूको चाप बढेको अनुभव भएको छ । हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११०० लिटर जति हावा लिन्छौँ । प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरु पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ । वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन हुन्छन् ।

तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने , घाँटी खसखस गर्ने, खोकी लाग्ने खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँदछ र निमोनिया जस्ता घातक रोगहरू लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ ।

दीर्घकालीन असरमा
प्रदूषित स्थानमा लामो समयसम्म बस्दाखेरि त्यसले हाम्रो श्वासप्रश्वास प्रणाली र शरीरमा गम्भीर समस्याहरूको सृजना गर्न सक्छ। प्रदूषणबाट हुने दीर्घकालीन समस्या मध्ये प्रमुख रोग दम नै हो, यसको साथसाथै फोक्सोको क्यान्सर, उच्चरक्तचाप, हृदयघात , मस्तिष्कघात, मुटुको चाल अनियमित हुने जस्ता समस्याहरू पनि देखिन सक्छ। वायु प्रदूषण बालबालिका र गर्भवती महिलाहरुका लागि पनि त्यत्तिकै खतरनाक छ । त्यसकारण वायु प्रदुषणबाट बच्नका लागि विशेष रुपले गर्भवती महिला र बालबालिकाले ध्यान दिनुपर्दछ । शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने, पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्दछ ।

यसबाट कसरी जोगिने ?

व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनीकरणको लागि गम्भीर रुपमा लाग्न आवश्यक छ । यसले कुनै व्यक्ति, वर्ग वा समुदाय छुट्याउँदैन । सहरी क्षेत्रको कुरा गर्दा प्रदुषण बढ्ने विशेष समय भनेको विहान र साँझ हो । यो समयमा सकेसम्म घर बाहिर ननिक्लने । सकेसम्म प्रदुषण कम हुने समयमा निस्कने । निस्कनै परेमा मास्कको प्रयोग गर्ने । हामीले सामान्यतया लगाउने सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनुपर्छ । यसले ९५ प्रतिशत सम्म कणहरूलाई छेक्न सक्दछ, यद्यपि हानिकारक ग्यासहरू र अत्यन्त सुक्ष्मकणहरू बाट भने यसले बचाउन सक्दैन ।

ग्रामीण क्षेत्रको हकमा प्रदूषणको मुख्य कारण भनेको घरभित्रबाट हुने प्रदूषण जस्तै दाउरा, गुइठा मट्टी तेलको चुलो आदिमा खाना पकाउने इन्धन हो र त्यसको न्यूनिकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुवा जम्मा नहुने किसिमले वायुसंचारको व्यवस्था मिलाउने, स्वच्छ उर्जाको प्रयोगमा बढी जोड दिने आदि हो । वनजङ्गल वन्यजन्तुको साझा घर हुनुको साथै स्वच्छ हावाको स्रोत पनि हो । यसको संरक्षणमा विशेष जोड दिनु आवश्यक छ र मानवीय रूपमा पनि वनजङ्गलमा आगो लगाउनु भनेको अक्षम्य अपराध हो । यस्तो अपराधीलाई कडाभन्दा कडाई कारबाही गर्ने नियम कानुन को अवलम्बन गर्न आवश्यक छ ।

 

(डा. महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा श्वासप्रश्वास रोग विशेषज्ञ रुपमा कार्यरत हुनुहुन्छ)