नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइसकेका छन । शर्माको सम्मानमा आज सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोह आयोजना हुंदैछ ।

महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम प्राप्त गरेका छन् ।

सेनामा रहंदा उनले लगभग सबै महत्वपूर्ण विभागमा बसेर काम गरेका छन् । शर्माले सैनिक सहायक, सुपारीटारमा पृतनापति, सम्भाररथी विभाग, युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्र्तराष्ट्रिय कमाण्ड गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा प्रधानसेनापति शर्माले एमफिल गरेका छन् ।

समारोहमा रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement