काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुरानै पार्टीहरूबाट गएकाहरूको वर्चस्व रहेको दाबी गरेका छन् ।
सोमबार सिंहदरबारमा संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूसँग संवाद गर्दै प्रचण्डले रास्वपामा नेकपा पृष्ठभूमिका २३, एमाले पृष्ठभूमिका २७ र कांग्रेस पृष्ठभूमिका ३३ सांसद रहेको बताए ।
विकसित पछिल्लो राजनीतिक परिस्थितिमा रास्वपामा गएकाहरू पुरानै राजनीतिक धारमा फर्किन सक्ने संकेत देखिन थालेको उनको भनाइ थियो । रास्वपामा आबद्ध भएकाहरूमा समान विचार र लामो राजनीतिक संघर्ष तथा संगठनात्मक आधार सहितको पृष्ठभूमि नभएको उनले बताए । प्रचण्डले प्रतिनिधि सभामा विभिन्न दलबाट पुगेका सांसदहरूको उदाहरण दिँदै भने, ‘नेकपाबाट गएका २३ जना सांसद् छन् । एमालेले २७ जना पठाएको छ । कांग्रेसले ३३ जना पठाएको छ,’ उनले भने, ‘तिनीहरूले त त्यहाँ काम गरिराखेकै छन् नि ! बिस्तारै–बिस्तारै काम गर्दैछन् । ती सबै पुरानै धारमा फर्किने मनस्थितिमा रहेको पाउँछु ।’
उनले आईतबार मात्र रास्वपाका एक नेताले आफ्नो पार्टीको संरचनाबारे आफूलाई भनेको कुरा सुनाए । ‘हिजो मात्र १ जना रास्वपाका प्रमुखमध्येकै नेताले मसँग भने ‘हामी त बाटा–बाटामा भेट्या मान्छे लिएर हिँडेर बनाएको पार्टी हो । कति बेला को कहाँ छुट्छन् भन्ने कुराको टुंगो छैन । कुनै विचारबाट बनेका, लामो संघर्षबाट बनेका भए पो यी मान्छे यहाँसँग टिक्छन् भन्ने हुन्थ्यो,’ उनले भने ।
प्रचण्डले आफू सातै प्रदेशमा पुगेर फर्किंदा पछिल्लो राजनीतिक मनोविज्ञानमा परिवर्तन आएको महसूस गरेको बताए । उनका अनुसार केही समयअघि नयाँ राजनीतिक शक्तितर्फ तीव्र आकर्षण देखिए पनि अहिले त्यो क्रम रोकिएको छ ।




प्रतिक्रिया