मेहनतले चाँडै नेपाललाई आर्थिक रूपमा गतिशील बनाउन सकिनेछ : अध्यक्ष प्रचण्ड

मेहनतले चाँडै नेपाललाई आर्थिक रूपमा गतिशील बनाउन सकिनेछ : अध्यक्ष प्रचण्ड


नेपालगञ्ज – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले इमान्दारीपूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रूपमा गतिशील बनाउन सकिने बताएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रूपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको बताए ।

अध्यक्ष प्रचण्डले गर्न सम्भव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रूपमा गतिशील बनाउन सकिने बताए । आफूले प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा नाका क्षेत्रको आर्थिक गतिविधि सहज बनाउने गरी थुप्रै निर्णय गरेको र भारतसँगको विद्युत् व्यापार, नेपाल, भारत र बङ्गलादेशसँगको त्रिदेशीय विद्युत् व्यापार सम्झौताको उल्लेख गर्दै उनले नेपालको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने बताए ।

आफूले प्रधानमन्त्रीको रूपमा चीन भ्रमण गर्दा एकैसाथ ८ वटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिँदै संयुक्त राष्ट्रसंघको महासभा, कोप २८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कूटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको बताए ।

नेपालगञ्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिँदै आएको उल्लेख गर्दै उनले अहिले महोत्सव भइरहेको स्थान रहेको १० बिघा जमिन उद्योग वाणिज्यलाई ५० वर्ष लिजमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएको भए पनि अर्को सरकारले खोसेकोमा दुःख व्यक्त गरे ।

आर्थिक विकासमा योगदान पुगोस् भनेर नेपालगञ्ज–गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको उल्लेख गर्दै उनले प्रादेशिक संरचनाले बाँके–बर्दियालाई समस्या भएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको बताए । अब संविधानको समीक्षा गर्ने बेलामा प्रादेशिक संरचनाको पनि समीक्षा हुने उनले स्पष्ट गरेका छन् ।