काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमा राजनीतिक ‘कल्चर’को राम्रो विकास भएको बताएका छन् ।
संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूसँग सोमबार सिंहदरबारमा कुरा गर्दै उनले लामिछानेमा राजनीतिक संस्कार र परिपक्वता देखिएको बताए ।
लामिछानेसँग आफ्नो नियमित संवाद भइरहेको खुलासा पनि उनले गरे । तर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भने अर्कै खालका मानिस भएको टिप्पणी प्रचण्डले गरे । ‘रवि लामिछाने, डीपी अर्याल सभामुख या विराजभक्त सबै मेरो क्याबिनेटमा बसेको साथीहरू हुनुको नाताले मलाई उहाँहरूलाई बुझ्न पनि गाह्रो छैन । उहाँहरूलाई भन्न पनि गाह्रो छैन । त्यसकारण मेरो संवाद चाहीँ रेगुलरै भइराख्या छ,’ उनले भने, ‘कैयौ कुरामा सल्लाह मिलि पनि राख्या हुन्छ । यसो गरौं भन्दाखेरी मिलिराख्या छ रविहरूसँग । अब प्रधानमन्त्री चाहीँ त अर्कै खालको छन्, त्यहाँ त्यस्तो केही भएको छैन ।’
प्रचण्डले लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको पनि बताए । ‘फेरि मेरो त तिनले गुन तिर्नुपर्नेछ । गुन तिर्न परेको भन्नुको अर्थ र विषय के हो भने मैले त उनको लागि धेरै डिफेन्स गर्या छु नि त पार्लियामेन्टमा, पहिलाको पार्लियामेन्टमा, पब्लिकमा, कैयौ निर्णय पनि छन् त्यस्ता, अस्ति त्यत्रो गुन लगाइया छ,’ उनले भने ।
प्रचण्डले लामिछानेलाई जेलमै गएर भेटेको पनि स्मरण गरे । लामिछानेले त्यो कुरा नबिर्सिएको पनि उनले उल्लेख गरे । ‘जेलमा गएर भेटेको छु, बाहिर आएर पत्रकारहरूको बिचमा बोलेको छु । यो सबै त तिर्नुपर्छ होला नि ? उहाँले सम्झिराखेको छु पनि भन्नुभएको छ,’ उनले भने ।




प्रतिक्रिया