म, केपी, माधव र झलनाथले पदका लागि झगडा गरेका होइनौंः अध्यक्ष प्रचण्ड


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपाभित्र पद नखोजेको बताएका छन् ।

बुधबार साँझ एपिवान टेलिभिजनमा अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले देश र जनताको लागि सोचिरहेकाले पद मोहमा नहिँडेको बताएका हुन् ।

‘प्रचण्डले देश र जनताको लागि जटिल अवस्थामा पछि ठाउँ बनाउँदै आएको छ । म नेकपाभित्र आफ्नो स्थानको खोजीमा छैन् । मैले आफ्नो लागि सोचेको छैन् । मैले देश र जनताको लागि सोचिरहेको छु’, उनले भने, ‘म पहिचानको खोजीमा छैन् । तपाईहरुले सोचेजस्तो अब म बरबाद भएँ भनेर चिन्तित भएको छैन् ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एपीवान टेलिभिजनमा पाँच दिनभित्र नेकपाको विवाद समाधान हुने भनेर किटान गरेको विषय आफूसँग सहमति भएर बोलेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सरकार र पार्टी अध्यक्षबाट राजीनामा दिनुनपर्ने बताएका छन् । उनले महाधिवेशनसम्म कुनै पनि राजीनामा नहुने प्रष्ट पारेका छन् ।

‘हामीबीच पदको विवाद हिजाे पनि थिएन । र अाज पनि छैन् । मान्छेले बुझ्दा पदको लडाई जस्तो भयो । यथार्थमा त्यही चाँही होइन’, उनले भने, ‘पदको लागि हुन्थ्यो भने पार्टी एकता नै हुँदैन थियो । गठबन्धन देशका लागि आवश्यक छ । म, केपी, माधव र झलनाथ पदका लागि झगडा गरेको होइनौं ।’

केन्द्रीय कमिटीको बैठकबाट महाधिवेशनतर्फ जाने बताए । अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारीका कारण बैठक बोलाउन सम्भव नभएको बताए । त्यस्तै अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुर्नगठन सहमतिका आधारमा हुने बताए । उनले पार्टीभित्र छलफल गरेर मन्त्रिमण्डल पुर्नगठन हुने बताए ।

‘यसमा प्याकेजमा नै जानुपर्छ । यी विषयमा सचिवालयमा समझदारी बनाएर र दुईवटा अध्यक्षबीच सहमति गरेर टुंगो लगाउने हाम्रो सहमति छ’, उनले भने ।

त्यस्तै उनले तत्कालिन माअओवादी एमालेको पछि नलागेको बताएका छन् । उनले तत्कालिन समयमा एमालेसँग मिलेर सरकार सञ्चालन गर्दा केही त्रुटी भएको महसुस गरेको पनि बताए ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट नै अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषयमा सहमति हुने बताए । उनले एमसीसी शंशोधन गरेर मात्र पास हुने बताएका छन् ।

त्यस्तै उनले बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव आफ्नो योजनामा विभाजनमा नगएको दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले तत्कालिन समयमा १२ बुँदे सहमतिमा असन्तुष्ट रहेकाले फुटेर गएको बताएका छन् ।

‘मेरो योजनामा विभाजन भएको सत्य होइन । पहिलो संविधानसभाको निर्वाचनबाट धेरै ठूलो पार्टी भयो । किरणजीले १२ बुँदे सहमतिलाई एक हिसाबले हेर्नुभयो भने अरु साथीहरुले अर्को हिसाबले हेर्नुभयो । साथीहरु आ–आफ्नो हिसाबले जानुभयो । तर, मेरो योजनाले होइन । तर, हामी एउटै स्कूलका हौं’, उनले भने, ‘अब फेरी एकचोटी समय आउन खोजेको देख्छु । विभाजित भएर गल्ती गर्यौं क्वारे भन्ने चिन्ता जति मलाई छ अरु साथीहरुलाई पनि त्यही होला भन्ने फिल गरेको छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement