प्रचण्ड-चिनियाँ उपराष्ट्रपति भेटवार्ता : ‘सम्झौता कार्यान्वयन गराउन भ्रमण’


काठमाडाैं–  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले र चीनका उपराष्ट्रपति वाङ क्वी सानबीच  बुधबार भेटवार्ता  भएकाे छ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउँदै अबको आफूहरुको अविभारा देशको समृद्धि भएको बताए। त्यसको आधारका रुपमा कम्युनिष्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरेको उनकाे भनाइ थियाे।

‘हामीसँग थुप्रै अवसर र चुनौतिहरु छन् । चुनौतिहरुको सामना गरेर मात्र विद्यमान अवसरहरु प्राप्त गर्न सकिन्छ,’ प्रचण्डले भने।

प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताए।

उपराष्ट्रपति सानले अध्यक्ष प्रचण्डलाई भने, ‘तपाईलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । तपाई हाम्रो पुरानो कमरेड हुनुहुन्छ । तपाईसँग भेट गर्न पाउँदा हामीलाई खुसी लाग्छ । तपाई हाम्रो पहिले पनि भेट भएको थियो ।’

अध्यक्ष प्रचण्डले चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई बुधवार सम्बोधन गरेका थिए।  उक्त समारोहमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement