प्रचण्ड भन्छन्-ओली, खनाल र नेपाललाई मैले नै प्रधानमन्त्री बनाएँ


काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालिन एमालेका तीन जना नेतालाई आफूले प्रधानमन्त्री बनाएको र त्यो सामथ्र्य आफूले मात्र राखेको बताएका छन्।

तत्कालिन एमालेको युवा संगठन युवा संघ नेपालको २९ औं स्थापना दिवसमा प्रचण्डले केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललाई आफूले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले ओलीलाई पहिलो पटक प्रधानमन्त्री बनाउन तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग आफूले प्रस्ताव गरेको बताए। पछिल्लो पटक पनि चुनावअघि नै ओलीलाई प्रधानमन्त्री बनाउने बचन दिएको स्मरण गर्दै उनले भने, ‘ओली जीलाई यस पटक पनि चुनावअघि मैलेनै तपाई प्रधानमन्त्री भनेको हुँ ।’

प्रचण्डले भूमिगतकालमा आफू तत्कालीन एमाले नेता माधवकुमार नेपालसँग सम्पर्कमा रहेको र पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका उनलाई संविधानसभामा ल्याउनु पर्छ र आवश्यकता छ भनेर आफूले पत्र लेखेको खुलाए। नेपाल संविधान सभामा पराजित भएपनि प्रधानमन्त्री बन्ने मौका पाएका थिए।

त्यस्तै, तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन पनि आफूले नै प्रस्ताव गरेको प्रचण्डले स्मरण गरे। त्यतिखेर एकीकृत नेकपा माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल थियो। आफूले छापामार शैलीमा खनाललाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको प्रचण्डले सुनाए।

हाल एमाले र माओवादी केन्द्रबीच एकता भइसकेको छ।  प्रचण्डले आफूलाई अस्थिर मान्छे भन्नुहुन्छ कि गजबको मान्छे भन्नुहुन्छ आफै तुलना गर्न पनि आह्वान गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement