योग र ध्यानको विषय पाठ्यक्रममा समावेश हुन्छः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो विषय प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको बताएका हुन् । योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो उद्देश्य राखेको उनको भनाइ छ ।

‘योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने कुरा गरिएको छ । मलाई विश्वास छ, नेपाल सरकारको यो निर्णयले योग आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्नेछ ।’, प्रधानमन्त्री प्रचण्डले भने,‘ ‘यहाँका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको देखिन्छ । मठ, मन्दिर, मूर्तिकलामा होस् वा चित्रकला, थांका होस् वा सबैतिर योगको जबरजस्त प्रभाव देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ढुंगेधारा, कुवा, इनार र राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको हामी सबैले देख्न सक्दछौँ । त्यसैले योग नेपालकै अमूल्य सम्पत्ति पनि हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement